सिसि क्यामेराको निगरानीमा मन्थली



२० माघ, रामेछाप ।
अपराधमुक्त नगरपालिका बनाउनको लागि रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सिसि क्यामेरा जडान हुने भएको छ । उद्योग वाणिज्य संघ रामेछापको सक्रियतामा समरमुकाम मन्थलीको भैश्वरदेखि बसपार्कसम्म सिसि क्यामेरा जडान गरिन लागेको हो ।
मन्थलीमा जडान गरिने सिसि क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालय रामेछापले गर्ने भएको छ । पहिलो चरणमा १३ वटा सिसि क्यामेरा जडान हुन लागेको उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापाले रामेछाप न्युजलाई बताए ।

उनले भने,‘सदरमुकाम मन्थलीमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न थप सहज बनाउन सिसि क्यामेरा जडान गर्न लागिएको हो ।’ सदरमुकामको मुख्य चोकहरुमा सिसि क्यामेरा जडान गरिने बताउदै थापाले भैश्वर, तामाकोसी अस्पताल, देवकोटा चोक सिडियो कार्यालय जाने चोक, बसपार्कसम्म सुरुको चरणमा सिसि क्यामेरा जडान गर्न लागिएको बताए ।

मन्थलीमा नौ वटा बैंक
सदरमुकाम मन्थलीमा नौ वटा बैंक रहेका छन् । इन्भेटमेन्ट, वाणिज्य बैंक, कृषि विकास बैक, एनएमबी बैंकले पचास÷पचास हजार रुपैयाँ सिसि क्यामेरा खरिद गर्न प्रदान गरेका छन् । एनसिसी बैकले तीस हजार रुपैयाँ सहयोग गरेका छ । सेन्चुरी कमर्सियल बैक, प्रभु बैंक, रिलायबल डेभलपमेन्ट बैक, टुरिजम डेभलपमेन्ट बैंकले भने सिसि क्यामेरा खरिदको लागि भने पैसा दिएका छैनन् ।

बैंकको सुरक्षाको लागि सिसि क्यामेर अत्यावश्यक भएपनि उद्योग वाणिज्य थालेको अभियानमा साथ दिएका छैनन् । अध्यक्ष थापाले एरपोर्टको पुल, सित्खा, सेलेघाट खुर्कोट लगायतको स्थानमा सिसि क्यामेरा आवश्यक भएपनि बजेटको अभावमा तत्काल गर्न नसकिने बताए । उनले सामाजिक काममा पारदर्शीता अपनाउनको लागि सिलबन्दी आह्वान मार्फत सिसि क्यामेराको जडान गर्ने बताए ।

मुख्य नाकामा सिसि क्यारा आवश्यकः प्रहरी
जिल्ला प्रहरी कार्यालय रामेछापले सदरमुकाम मन्थलीसँगै जिल्ला जोडने मुख्य नाकाहरुमा पनि सिसि क्यामेरा आवश्यक भएको बताएको छ । प्रहरीले रामेछाप क्षेत्र नम्बर २ जोडने आकाशेमा रहेको तामाकोसीको पुल, सेलेघाट, खुर्कोट, सित्खा लुभु खिम्ती लगायतको क्षेत्रमा पनि सिसि क्यामरा राख्नु पर्नेमा जोड दिएको छ । सदरमुकाम मन्थलीबाट सबै मनिटरिङ गर्न नसकिए पनि दुई दिनसम्म सिसि क्यामेराको फुटेज रहने भएकाले नाकामा रहेको प्रहरी कार्यालयले हेर्न गरी सिसि क्यामेरा आवश्यक भएको सुझाव प्रहरीले दिएको छ ।
२१ लाख रुपैयाँ लागत लाग्ने सिसि क्यामेरा जडान गर्नको लागि उद्योग वाणिज्य संघ रामेछापले डेन्टर गर्ने भएको छ । मन्थली नगरपालिका र जिविसबाट ८ लाख ५० हजार, बैक तथा सहकारीबाट दुई लाख तीस हजार संकलन भएको अध्यक्ष थापाले बताए । उनले रामेछाप न्युजसँग भने,‘सिसि क्यामेरा जडान गर्न नपुग्ने पैसा व्यापारीसँग सकंलन गरेर हाल्ने योजना छ ।’

प्रतिक्रिया दिनुहोस्