१७ बर्षमा यसरी बन्यो २२० केभी खिम्ती–ढल्केबर विद्युत प्रसारण लाईन



२० माघ, दोलखा(खिम्ती) ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाईनको उद्घाटन गरेका छन् । प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित हुने बताएका हुन् । विद्युतीकरण नै नेपालको आर्थिक–सामाजिक विकास र राजनीतक स्थीरताको आधार हो, प्रचण्डले भने,‘भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छेहरु लागेका छन, त्यस्ता भ्रमको पछि नलाग्नुहोला ।’

उनले क्लीन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदै अबदेखि जलविद्युत आयोजनाको संगसँगै प्रसारण लाईन निर्माणको कामलाई पनि तीब्रता दिने योजना सरकारले बनाएको बताए । नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफुले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता प्रचण्डले व्यक्त गरे ।

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको अलग थलग प्रसारण प्रणालीलाई एकीकृत प्रसारण लाईनको रुपमा अघि बढाएको बताए । खिम्ती–ढल्केबर प्रसारण लाईनले अन्तरदेशीय बिद्युत आयात–निर्यातको सेतुको रुपमा काम गरेको उनले बताए । उज्यालो अभियान कार्यक्रम देशमा लोडसेडिङ अन्त्य गर्ने अभियान मात्र नभई राष्ट्रलाई औद्योगीकरणको दिशामा अघि बढाएर समृद्ध नेपाल निर्माण गर्ने अभियान भएको मन्त्री शर्माले बताए ।

नेपालको पानी जनताको लगानी कार्यक्रमले लगानीको प्राथमिकता नेपाली जनताकै हुनुपर्ने उद्देश्य राखेको भन्दै उनले े लगानीको दोस्रो प्राथमिकता आन्तरिक ऋण र तेश्रो प्राथमिकतामा मात्र बैदेशिक लगानी भित्र्याउनुपर्ने बताए । जनकपुरको ढल्केबरदेखि दोलखाको खिम्तिसम्म ७४ किलोमिटर प्रसारण लाईनको सिङगल सर्किटको निर्माण सम्पन्न भएपछि यसको उद्घाटन गरिएको हो ।

२०६३ सालमा थालनी भएको खिम्ति–ढल्केबर प्रसारण लाईनको सिङगल सर्किट २०७३ माघमा सम्पन्न भएका थियो । सर्वेक्षणदेखि हालसम्म १७ वर्ष लागेको थियो । जग्गा अधिग्रहणमा स्थानीयको अवरोध र रुख कटानमा देखिएका विविध समस्याका कारण प्रसारण लाईन निर्माणमा ढिलाई भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तीन वटा ठेकेदार कम्पनीले जिम्मा लिएको यस प्रसारण लाईन निर्माणमा १ अर्ब ९५ करोड खर्च भएको थियो । खिम्ती–ढल्केबर प्रसारण लाईनको कुल क्षमता ७०० मेगावाट रहेको छ । एक सर्किटमा ३५० केभी पावर प्रसारण गर्न मिल्छ ।
खिम्ति–ढल्केवर प्रसारण लाईन सम्पन्न भएपछि काठमाडौं र पोखरामा लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण सहयोग पुग्नेछ । यस्तै बिरगञ्ज क्षेत्रमा देखिएको अस्थीर भोल्टेजको समस्या समाधान हुनेछ । यस प्रसारण आयोजनाले बिद्युतको माध्यमबाट तराई र पहाड जोड्ने काम गरेकोछ । साथै यसले नेपाल र भारतबीच विद्युतको आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यस प्रसारण लाईनले तामाकोशशी करिडोरमा पिपिए भएका १८०० मेगावाट बराबरका जलविद्युत आयोजनाहरुको पावर फ्लो गर्न सहयोग पुग्नेछ ।

यस्तै यसले रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र ओखलढुंगामा बन्ने जलविद्युत आयोजनाहरुको पावर प्रसारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । यस प्रसारण लाईन आयोजनाबाट १० मेगावाटसम्म विद्युत चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणले जनाएको छ । प्रसारण लाईन निर्माणको क्रममा २५ हजार रुख कटान गरिएको थियो भने ६ लाख २५ हजार बिरुवा रोपिएका छन् । यस्तै १०२ रोपनी जग्गा अधिग्रहरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्