अब दोरम्बा गाउँपालिकाको ७ स्थानमा फ्रि वाइफाइःउपाध्यक्ष घिसिङ



स्थानीय तहको निर्वाचनपछि जनतामा निकै आशा र अपेक्षा जगाएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो गाउँपालिका र नगरपालिका कस्तो बनाउने भन्ने योजना बनाउन लागेका छन् । स्थानीय तहमा आवश्यक पर्ने विकासका पूर्वाधार, सडक, खानेपानी, विद्युत, स्वास्थ्य शिक्षा लगायतका सुविधा कसरी पुर्याउने भन्ने जनप्रतिनिधिहरुको गम्भीरताको साथ लागेका छन् ।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका ऐतिहासिक भूमि पनि हो । जनयुद्धको समयमा २०६० साल श्रावण ३२ गते युद्धविरामको समयमा तत्कालिन शाही नेपाली सेनाले रामेछापका तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको हत्या गरेको थियो । दोरम्बाको डाँडाकटेरी अहिले पनि राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा चर्चा हुने गरेको छ ।

स्थानीय तहको निर्वाचनमा दोरम्बा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । दोरम्बा गाउँपालिका कस्तो बनाउने ? भन्नेमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाका अध्यक्षहरु रातदिन नभनि काममा जुटेका छन् । जनप्रतिनिधिहरुको एउटै चिन्ता छ, दोरम्बा गाउँपालिकालाई कसरी समृद्ध बनाउने ?
गाउँपालिकामा आर्थिक बर्षको लागि बजेट पनि विनियोजन भइसकेको छ । गाउँपालिकाले नीति र कार्यक्रम बनाएर गाउँपालिकाको प्राथमिकता निर्धारण गरेको छ । कृषि क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको छ । २२ हजार ७ सय ८० जनसंख्या रहेको दोरम्बा गाउँपालिका कृषि र पर्यटनको उर्वर क्षेत्र हो ।
गाउँपालिकाको सबै वडाहरुमा सडक पुगेको छ । तर सबै क्षेत्रमा सहज रुपमा यातायात सञ्चालन गर्न भने कठिनाई नै छ । अधिकांश क्षेत्रमा विद्युतीकरण भएपनि केही क्षेत्रमा विद्युतीकरणको काम बाँकी छ । दोरम्बा गाउँपालिकालाई केही समयभित्र नै उज्यालो दोरम्बा बनाउने योजना गाउँपालिकाले अगाडि सारेको छ । यसै विषयमा दोरम्बा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङसँग दोरम्बा गाउँपालिकाको समृद्धिको आधार र आगामी योजना लगायतको विषयमा रामेछाप न्युजले गरेको कुराकानीः–

कृशला घिसिङ उपाध्यक्ष, दोरम्बा गाउँपालिका

गाउँपालिकाको विकासको लागि राजनीतिक चेतना चाहिन्छ
निर्वाचन हुनु भन्दा अघि मलाई विदेशबाट विभिन्न अवसर आएको थियो । तर मैले आफ्नो गाउँघरमा नै केही गर्नुपर्छ भनेर नजाने निर्णय गरेको थिए । आफ्नो देशमा केही गर्छु भन्ने सोचर नै स्वदेशमा नै केही गर्ने अठोट गरेको थिए । स्थानीय तहको निर्वाचनमा दोरम्बा गाउँपालिकाको उपाध्यक्षको पदको लागि पार्टीले मलाई विश्वास गरेर टिकट दियो । गाउँपालिकाको विकास गर्नको लागि राजनीतिक चेतना हुन आवश्यक छ । व्यक्तिले जति नै विकास गर्छु भनेर सोचे पनि एक्लो प्रयासले कमै मात्र सफलता प्राप्त हुन्छ । मौका पनि पाए । निर्वाचनको प्रचार प्रसारको अभियानमा हिड्दा निर्वाचनमा जितेपछि जनताको जीवनस्तरमा परिवर्तन गर्नुपर्छ भन्ने झन ढृढ अठोट गरे । दोरम्बा गाउँपालिकाका जनताले विकास हुने आशा र अपेक्षा राख्नुभएका छ । त्यो अनुसार अगाडि बढन प्रतिबद्ध भएर लागेको छु । जनताले विश्वास गरेर विजयी पनि गराउनु भएको छ । विजयी भएपछि जति पनि जनताले खादा ओढाउनु भयो । मलाई त्यति नै धेरै काँधमा जिम्मेवारी थपिएको भान भएको थियो । त्यो जिम्मेवारी र दायित्वलाई बहन गर्न लागि रहेको छु ।
अब हिउद बर्षा नै यातायात सञ्चालन गछौं
गाउँपालिकाको ७ वटा वडा मध्ये चार नम्बर वडा अलि विकट मानिन्छ । रामेछाप जिल्लाको दुर्गम साबिकको गाविस अन्तर्गत नै पर्ने गरेको थियो । पहिलादेखि नै रामेछापको विकट क्षेत्रको रुपमा चिनिदै पनि आएको छ । सबै वडाको केन्द्रसम्म त सडक पुगेको छ । तर अब हिउद बर्षा नै सहज रुपमा यातायात सञ्चालन हुन गरी गाउँपालिकाले बजेटको साथै नीति तथा कार्यक्रम बनाएको छ ।
आर्थिक बर्षको बजेटमा नै गाउँपालिकाले सडकको स्तरउन्तीको लागि बजेट छुटयाएका छौं । वडा कार्यालयको केन्द्रबाट गाउँपालिको केन्द्रसम्म सहज रुपमा यातायात सञ्चालन गर्नको लागि बजेट छुटयाएर काम गर्ने तयारीमा छौं । जुन बजेटले हिउद बर्षा नै सहज रुपमा गाउँपालिकाभित्र यातायात उपभोग गर्न पाउने व्यवस्था गर्न लागेका छौं ।
उज्यालो दोरम्बा बनाउछौ
दोरम्बा गाउँपाकिकाको सबै वडामा विद्युतीकरण भएपनि वडा नम्बर १ को साबिकको ६,७ ८ वडामा विद्युत पुगेको छैन् । यसको लागि जिल्ला विद्युत प्राधिकरणबाट टेन्डर भइसकेको छ । वडा नम्बर ५ मा सामुदायबाट उत्पादन गरिएको विद्युत प्रयोग भएको छ । त्यसलाई केन्द्रमा सारेर विद्युतीकरणको काम गर्ने सोच बनाएका छौं । दसै अगाडि नै गाउँपालिका सबै क्षेत्रमा विद्युतीकरण गर्ने योजना बनाएका छौं । थोरै मात्र क्षेत्रमा बाँकी रहेकाले छिट्टै विद्युतीकरणको काम सम्पन्न गछौं ।
दोरम्बा गाउँपालिकालाई पर्यटकको केन्द्र बनाउछौ
पर्यटीय दृष्टिकोणबाट दोरम्बा गाउँपालिका निकै सम्भावना बोकेको ठाउँ हो । दोरम्बा गाउँपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपमा निकै धनी मानिन्छ । पर्यटक भित्र्याउनको लागि भौतिक पूर्वाधारको काम पहिलो शर्त हो । त्यसको लागि हामीले सहज रुपमा सधैभरी यातायात सञ्चालन हुने गरी सडकको स्तरउन्तती गर्ने योजना बनाएका छौं । बर्षा लागेपछि सडकमा यातायात सञ्चालन गर्न कठिनाई छ । सैलुङ्ग धार्मिक हिसाबले पनि धेरै महत्व बोकेको ठाउँ हो । हामीले यहाँको पर्यटन प्रर्बद्धन गर्नको लागि आगामी बर्ष सैलुङ्ग पर्यटन महोत्सव गर्ने सोच बनाएका छौं ।

गाउँपालिकाले नै उत्पादन भएको कृषिजन्य वस्तुको बजार प्रबद्र्धन गर्छ
गाउँपालिकाको ४ वटा वडालाई कृषि पकेट क्षेत्रको रुपमा घोषणा गरेर नै काम गर्ने नीति तथा कार्यक्रममा नै समावेश गरेका छौं । दोरम्बा गाउँपालिकामा उत्पादन हुने आलु पनि मुढेको आलु भनेर अहिले चिनिदै आएको छ । अब हामीले सैलुङ्ग दोरम्बाको आलु भनेर अभियान सञ्चालन गरेर नै देशका विभिन्न शहरमा पुर्याउने लक्ष्य राखेका छौं । आलु खेती गर्न चाहने कृषकहरुको लागि विशेषगरी अनुदान दिने, विउ उपलब्ध गराइदिने, गाउँपालिकामा फलफुल खेतीको लागि पनि उपयुक्त क्षेत्र छ । गाउँपालिकाभित्र सुन्तला उत्पादन हुने क्षेत्रलाई पनि पकेट क्षेत्रको रुपमा सुन्तला लगाउने योजना बनाएका छौं ।
गाउँपालिकाको १ र २ नम्बर वडामा किबी खेतीको राम्रो सम्भावना रहेको छ । किबीलाई पनि पकेट क्षेत्रको रुपमा अगाडि बढाउन सकिन्छ । अलैची पनि राम्रो उत्पादन हुने क्षेत्र रहेको छ । गाउँपालिकाभित्र तरकारी र फेलफुल खेती हुने गरेपनि समयमा नै बजारसम्म पुर्याउनको लागि यातायातको कठिनाई छ । अब यो कठिनाई हटाएर गाउँपालिकाले नै बजारको व्यवस्था गर्ने सोचेका छौं ।
जनतालाई सुविधा दिन एम्बुलेन्स
गाउँपालिकामा सरकारले निर्माण गर्ने १५ सैष्याको अस्पताल निर्माण हुनको लागि त समय लाग्छ । स्वास्थ्य क्षेत्रमा जनतालाई सुविधा दिनको लागि एम्बुलेन्स खरिद गर्नको लागि बजेट छुटयाएका छौं । एम्बुलेन्स खरिद गरेपछि गाउँपालिका जनतालाई सुविधा पुर्याउन सहज हुन्छ । सबै स्थानमा पुग्न नसकेपछि यातायातको पहुँच भएको स्थानका जनताले सुविधा उपभोग गर्न पाउछन् ।
अग्रेजी भाषाको नाममा पहिचान मेटन दिदैनौ
अहिले गाउँपालिकाहरुले सरकारी विद्यालयहरुमा पनि अगे्रजी माध्यबाट पठनपाठन गराउने निर्णय गर्न थालेका छन् । अगे्रजी माध्यबाट पढाउने भन्दा भोली नेपाली भाषा नै लोभ हुने त होइन ? लोकसेवामा प्रतिस्पर्धा गर्ने ७० प्रतिशत सरकारी विद्यालयमा अध्ययन गरेर आएका छन् । अग्रेजी भाषा चाहिन्छ । यो विश्वकै भाषा पनि हो । अग्रेजी पनि राख्नु तर भाषा र पहिचान नै मेटाउने गरी चाही हुँदैन । नेपाली भाषा नै लेख्न र बोल्न गाहे हुने अवस्था आउन दिनु हुँदैन । पूरै अग्रेजी माध्यमबाट भन्दा पनि सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुको अग्रेजी राम्रो बनाउने सोच बनाउनु पर्छ । विद्यार्थीको मनोविज्ञानलाई बुझेर पढाउन सक्ने शिक्षक छनोट गरेर नयाँ ढंगबाट अध्ययन गराउने परिपाटीको विकास गर्नुपर्छ । समग्र सबै विषयलाई राम्रो बनाउछु पर्छ ।
अब युवाहरु विदेशबाट स्वदेश फर्किनु पर्छ
गाउँपालिका प्राकृतिक रुपमा सम्पन्न छ । यहाँ विभिन्न सम्भावना छ । उद्योग धन्दा स्थापना गर्ने सम्भावना तत्काल नभएपनि सम्भावनाको खोजी गर्ने काम गाउँपालिकाले अगाडि बढाएको छ । पर्यटन र कृषि मार्फत गाउँघरमा नै युवाहरुलाई रोजगारी दिन सकिन्छ । सम्भावना नै नभएको होइन । ढुङगा खानी तामाखानीको सम्भाव्यता अध्ययन गरेर मात्र काम अगाडि बढाउने सोच बनाएका छौं । युवाहरु विदेशमा गएर पनि अधिकांश देशमा कृषिमा नै काम गर्ने गरेका छन् । स्थानीय तहले धेरै अधिकार दिएको छ । त्यसैले अब युवाहरुले अब विदेश होइन स्वदेश नै रोज्ने अवस्थाको सृजना गर्न लाग्छौं । विदेशीयका युवाहरुले आफ्नो गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सोच जगाउन आवश्यक छ ।

गाउँपालिकाको ७ स्थानमा फ्रि वाइफाइ

गाउँपालिकाले सञ्चारको लागि भनेर बजेट छुटयाइएको छ । गाउँपालिको केन्द्र र हरेक वडाको केन्द्रमा फ्रि वाइफाइको लागि बजेट नै विनियोजन भएको छ । सञ्चार महत्वपूर्ण कुरा हो । प्रशासनिक कार्यहरु इन्टरनेट चाहिने भएको छ । भदौसम्म दोरम्बा गाउँपालिकाको केन्द्रमा फ्रि वाइफाइ सञ्चालनमा ल्याउछौं ।
पहिलाकोजस्तौ भनसुन अब चल्दैन
विगतमा गाउँपालिकामा हुने विकास निर्माणको काममा अपारदर्शीता थियो । अब त्यो हुने दिइने छैन् । अबको दिनमा जति पनि काम हुन्छ, त्यो सबै पारदर्शी हुन्छ । पहिलाकोजस्तो भनसुनको हिसाबले काम चल्दैन । जनताले भोट जितेर जिताउनु भयो । पारदर्शीता काम गर्नुपर्छ । निर्वाचको क्रममा हामी पार्टीको थियौ । अहिले सबै जनताको भएका छौं । हामीले सबै जनतालाई बराबरी गर्नुपर्छ । कानुन विपरीत आउने कुरालाई स्वीकार गर्न सकिदैन ।
महिला शसक्तिकरणको अभियान चलाउछौ
विगतमा महिला शसक्तिकरणको लागि भएको प्रयास त्यति प्रभावकारी रुपमा देखिएको छैन् । अब गाउँपालिकाले नै योजना बनाएर सात वटै वडामा महिला शसक्तिकरणको काम सञ्चालन गछौं । गाउँपालिकामा रहेका महिला सदस्यहरुको सक्रियतामा अब प्रभावकारी रुपमा कार्यक्रम अगाडि बढाउछौं । आर्थिक, सामाजिक, राजनीतिक रुपमा अगाडि बढाउने काम गछौं । महिलाहरुको क्षमता विकास गर्नको लागि सीपमूलक कार्यक्रम सञ्चालन गरेर आर्थिक क्षमता विकास गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्