‘तीनलालको जिल्ला रामेछापमा कम्युनिष्ट म्युजियम’



२५ कात्तिक, काठमाडौं ।
तीनलालको भूमि रामेछापमा नमूना पार्क र म्युजियम बन्ने भएको छ । आगामी निर्वाचनपछि बाम गठबन्धनले तीनलालको भूमि रामेछापमा कम्युनिष्टहरु गन्तव्यस्थलको रुपमा विकास गर्ने बताएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तीनलालको जिल्लालाई विश्वका कम्युनिष्टहरुको लागि अध्ययन केन्द्रको रुपमा विकसित गर्ने बताए । उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जिल्ला रामेछापलाई देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागि पनि गन्तव्यस्थल बनाउने बताए ।
‘गंगालाल, पुष्पलाल र कृष्णलालको भूमि रामेछापमा एउटा नमूना लायक कम्युनिष्ट पार्टीको स्मृतिमा स्मारक, पार्क र म्युजियम बनाउने हाम्रो उदेश्य छ’, नेता नेपालले भने ।
शनिवार राजधानीमा रामेछाप–काठमाडौं संयुक्त वाम गठबन्धन सम्पर्क मञ्चले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर स्थिर सरकार सञ्चालन गर्ने बताए ।

उनले बाम गठबन्धनको कारण कांग्रेस आत्तिएको बताउदै बरबराउने काम गर्न चेतावनी दिए । उनले भने,‘देशको विकास बाम गठबन्धनले मात्र गर्न सक्छ, कांग्रेसले पटक–पटक सरकार सञ्चालन गर्ने अवसर पाए पनि विकास गर्ने कुनै जाँगर नै देखाएन ।’ कांग्रेसले कम्युनिष्ट शासन आए बोल्न पनि पाइदैन भनेर गलत प्रचार गरेकोप्रति आक्रोश व्यक्त गर्दै कम्युनिष्ट पार्टीलाई लोकतन्त्रको पाठ कांग्रेसले सिकाउन जरुरी नभएको बताए । उनले भने,‘लोकतन्त्र ल्याउनको लागि हामीले ठूलो संघर्ष गरेका छौ, कम्युनिष्ट शासन भनेको जनताको शासन हो ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोख्रेलले देशमा समृद्धिको लागि बाम गठबन्धन बनेको बताए । उनले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर बाम गठबन्धन विजयी हुने बताए । नेता पोख्रेलले बाम गठबन्धनलाई विजयी बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ता एकतबद्ध भएर लाग्न पनि निर्देशन दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य देवशकंर पौडेलले अब बाम गठबन्धनलाई कसैले पनि पराजित गर्न सक्ने बताए । उनले देश र जनताको आवश्यकता अनुसार नै बाम गठबन्धन बनेको बताउदै आगामी निर्वाचनमा गठबन्धनले दुई तिहाई बहमुत ल्याएर स्थायी सरकार सञ्चालन गर्ने बताए ।

बाम गठबन्धनको तर्फबाट रामेछाप प्रतिनिधिसभाका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठले देशको समृद्धि र स्थिरताको लागि बाम गठबन्धन बनेको बताए । उनले आगामी निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताए । उम्मेदवार श्रेष्ठले भने,‘रामेछापमा बाम गठबन्धनको जित सुनिश्चित भएको छ, कांग्रेसका उम्मेदवार कान्छारामको प्रतिस्पर्धा टेन्डरमा हुन्छ, बाम गठबन्धनसँग हुन सक्दैन ।’
कार्यक्रममा वाम गठबन्धनका तर्फबाट रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार नेकपा एमालेका शान्ति पौडेलले बाम गठबन्धन बनेपछि जनतामा उत्साह थपिएको बताए । उनले आन्तरिक रुपमा एकताबद्ध भएर लाग्ने हो भने रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दावी गरे ।

सोही कार्यक्रममा बाम गठबन्धनका तर्फबाट रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुङगेलले बाम गठबन्धन बनेपछि कांग्रेस आत्तिएको बताए । उनले कांग्रेस जतिसुकै आत्तिए पनि बाम गठबन्धनले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दावी गरे ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज चौलागाईले बाम गठबन्धनलाई दुई तिहाई बहुमत सहित विजयी गराउनु पर्ने बताए । उनले बाम गठबन्धनले मात्र यो देशको विकास र समृद्धि गर्न सक्ने बताउदै वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने सबै एकताबद्ध भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल,रामेछापबाट समानुपातिक सूचीमा रहेका एमाले नेता चुडादेव सिंह घिसिङ लामा, आनन्द श्रेष्ठ, माओवादी नेता मैनकुमार मोक्तान लक्ष्मी गुरुङ लगायतले बाम गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्