मुख्यमन्त्रीको दौडधुपमा कैलाश ढुंगेल, को बन्ला प्रदेश नं. ३ को मुख्यमन्त्री ?



१९ माघ, हेटौडा ।
सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको प्रदेश नं ३ को मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का नेताहरुमा दौडधुप शुरु भएको छ । मुलुकको राजधानी काठमाडौँसमेत रहेको १४ जिल्लासहितको यस प्रदेशको प्रदेशसभाको प्रथम अधिवेशनको ऐतिहासिक पहिलो बैठकमा सम्पन्न भई सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै मुख्यमन्त्रीमा आकांक्षी बढेका हुन् ।
एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौँ), पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे (धादिङ), पोलिटब्यूरो सदस्य पशुपति चौलागाई (दोलखा), पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ (काठमाडौँ), केन्द्रीय सदस्य कैलाश ढुंगेल (रामेछाप), काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित, हेटौँडा नगरपालिकाका पूर्व प्रमुख तथा ज्येष्ठ सदस्य डोरमणि पौडेलसम्मले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् ।


महिला मुख्यमन्त्री हुने सम्भावना नरहेको र जातीयता सन्तुलनको दृष्टिले उपाध्यक्ष शाक्य मुख्यमन्त्री बन्ने आँकलन गरिएपनि नेता पाण्डेले पनि आफूलाई दावेदार भएको बताएका छन् । चीनको केरुङ नाकादेखि प्रदेश नं २ को वीरगञ्ज भन्सारसम्म जोडिएको यस प्रदेशमा विकास र समृद्धिको खाकासहित मुख्यमन्त्रीको आकांक्षा व्यक्त गर्ने नेतामध्ये पार्टीका शीर्ष नेताको आशीर्वाद र सद्भाव कसलाई प्रकट हुने हो त्यस आधारमा पनि को विजयी हुने भन्ने चर्चा सुरु भएको छ ।

मुख्यमन्त्रीको आकांक्षी कैलाश ढुंगेलले पनि दौडधुप बढाएका छन् । एमाले एक्लै पनि बहुमतमा रहेको यस प्रदेशमा वाम गठबन्धनमा रहेका एमाले र नेकपा (माओवादी केन्द्र) बीच एमालेलाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ । सात प्रदेशमध्ये धेरै सांसद् (११० सदस्य) भएको यस प्रदेश नं ३ मा एमालेका ५८ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्