सरकारसँग घुडाँ टेक्यो यातायात व्यवसायी, यातायात सुचारु



२२ वैशाख, काठमकाडौं ।
सिन्डिकेट यथावत हुनुपर्ने माग राख्दै यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघले सरकारसँग घुडाँ टेकेको छ । आन्दोलन मार्फत सरकारलाई घुडाँ टेकाउने चेतावनी सहित आन्दोलन अगाडि सारेका व्यवसायीहरुले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् ।
सिन्डिकेट हटाउन नहुने माग गर्दै महासंघले शुक्रबार सार्वजनिक यातायात बन्दको घोषणा गरेको थियो । व्यवसायीले यातायात बन्द गरेसँगै सरकार त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको थियो । यातायात व्यवसायी महासंघमा आबद्धलाई पक्राउ गर्नेदेखि रुट खारेजीसम्मको निर्णय सरकारले गरेको थियो । सरकार र यातायात व्यवसायीबीच द्वन्द्व बढिरहेका बेला संघर्षरत यातायात व्यवसायी महासंघले बन्दलगायतका संघर्षका कार्यक्रम फिर्ता लिएको हो ।


महासंघले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ । ‘सार्वजनिक यातायातसँग सम्बन्धित महासंघहरुले उठान गरेका मागहरुलाई वार्ताद्वारा समस्या समाधान गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ । महासंघले देशभरका यातायात संघ, संस्था, प्रालिका पदाधिकारी, व्यवसायी, कर्मचारी तथा मजदुरहरुलाई धरपकड तथा पक्राउ गरिएको प्रति आपत्ति जनाउँदै उनीहरुलाई विना शर्त रिहाइ गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्