साना मात्र हाेइन अब ठूला माछा पनि पक्राउ पर्छनः गृहमन्त्री थापा



काठमाडौँ, २३ जेठ l गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफूले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिनमा उपलब्धीपुर्ण काम गरेको भन्दै यसबाट जनताले राहत महशुस गरेको बताउनुभएको छ ।
आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यातायात सम्वद्ध समितिहरुको दर्ता र नवीकरण रोक्ने निर्णय गरि लामो समयदेखि यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानविन समिति मार्फत तस्करीको जालो तोड्न सफल भएको तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठुलो गिरोह पक्राउ परेको जस्ता कार्यहरु यो अवधीमा गरीएको जानकारी दिनुभयो ।
निर्माणका कार्यमा ढिला सुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदाहरुलाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका नियकाहरुसँगको समन्वयमा कारवाही अघि बढाईएको उहाँले बताउनुभयो ।
जतिसुकै शक्तिशाली ठेकेदार भएपनि उसलाई कारवाहीको दायरामा ल्याएर छोड्ने गृहमन्त्रीको भनाई छ ।
यस्तै सुन तस्करी प्रकरणमा अब ठुला कारोबारी पनि पक्राउ पर्ने संकेत गर्दै उहाँले भन्नुभयो, ‘ सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन, अब ठुला माछा पनि पक्राउ पर्दैछन् । ’
सरकारले लिएको विकास र समृद्धीको लक्ष्य प्राप्त गर्न भ्रष्टचार, तस्करी, अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा गृहले सक्रिय रुपमा काम गरीरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘ सुशासन कायम गर्न विद्यमान तस्करी, अपराधिक घटना र गतिविधि निस्तेज गर्न लक्ष्य सहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनुका साथै ३७ बुंदे निर्देशनहरु सबै जिल्ला प्रशासन कार्यालयमा पठाईएको छ । सोही अनुसार कार्यहरु अघि बढिरहेका छन् । ’
यस्तै मदिरा नियन्त्रण र लागुऔषध निषेध अभियानलाई पनि मन्त्रालयले अभियनाको रुपमा लैजान लागेको उहाँले जानकारी दिनुभयो ।
ट्राफिक व्यवस्थापनको कार्य प्रारम्भ भएको, सात वटै प्रदेशमा प्रदेशिक सुरक्षा गोष्ठी सम्पन गरिएको, लामो समयदेखि रोकिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा , बढुवा नियमित गरीएको, विदा कटौती तथा सरकाी सवारी साधनको दुरुपयोग रोक्ने जस्ता कार्यलाई यो सय दिनका आफ्नो उपलब्धीको रुपमा गृहमन्त्री थापाले लिनुभएको छ ।
आन्तरिक सुरक्षा ऐन, २०७५, नागरिकता ऐनको संशोधन, परिचय पत्र व्यवस्थापन ऐन, सामाजिक सुधार ऐन लगायतका महत्वपूर्ण ऐनहरु सहमतिका लागि कानून मन्त्रालय पठाईएको तथा संघिय प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा रहेको गृहमन्त्रालयले जनाएको छ ।
केहीले कम्युनिष्टको नाममा तथा केहीले जातियता, क्षेत्रियता र धर्मका नाममा संविधान विरोधी तथा अस्थिरता निम्ताउने गतिविधि गरीरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्