हेलिकोप्टर दुर्घटनामा रामेछापका ट्रेकिङ गाइड गुरुङको निधन



२४ भदौ, काठमाडौं । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ ।

दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु ९राहदानी नम्बर टिके७१३६१२०६८०, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।
गुरुङको निधनले शोकमा गोकुलगंगा गाउँपालिका
हेलिकोप्टर दुर्घटनामा परी रामेछाप गोकुलगंगा गाउँपालिका–४ नामाडी निवासी डिल्लीबहादुर गुरुङको पनि निधन भएको छ । ट्रकिङ गाइड गुरुङको निधनप्रति गोकुलगंगा गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । साविक नामाडी वडा नम्बर १ भित्तरी निवासी गुरुङको निधन भएपछि गाउँ शोकमा डुबेको छ । लामो समयदेखि ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएका गुरुङको श्रीमती एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्