एक साथ सडक खानेपानी र बिजुली, भीरपानीवासीमा खुसीयाली



२१ चैत्र, रामेछाप ।
विकास निर्माणको कामले पछि परेको भन्दै गुनासा गर्ने भिरपानीवासीमा अहिले एकै साथ खुसी थपिएको छ । सुख्खाग्रस्त क्षेत्रको रुपमा रहेको खाडाँदेवी गाउँपालिका–३ भीरपानीमा खानेपानी, सडक कालोपत्रे र बिद्युतीकिरणको काम एक साथ अगाडि बढेको छ । लामो समयदेखि विकास निर्माणको पखाईमा रहेका भिरपानीमा विकास निर्माणको कामले ह्वातै गति लिएको छ । यस आर्थिक बर्षभित्र नै भिरपानीका करिब ७ सय घरधुरीमा विद्युतीकरण हुने भएको छ ।

खाडाँदेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले यस आर्थिक बर्षभित्र नै विद्युत प्राधिकरण र वल्ड बैंकको सहयोगमा विद्युतीकरणको काम अगाडि बढेको बताए ।
खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले भिरपानी लगायत सबै वडामा विकास निर्माणको कामले गति लिएको बताइन । गाउँपालिकाले हरेक विकास निर्माणको निरन्तर अनुगमन गरिरहेको बताउदै उपाध्यक्ष श्रेष्ठले विकास निर्माणको कार्यमा नागरिकहरुको पनि साथ र सहयोगको खाँचो रहेकोमा जोड दिइन ।

भिरपानीमा खानेपानीको समस्या पनि हल हुने भएको छ । सुनकोसी लिफ्ट खानेपानी आयोजनाले भिरपानीवासीको घरघरमा पानी पुर्याउने कार्यमा अहिले जनप्रतिनिधिहरु जुटेका छन् ।
यस आर्थिक बर्षबाट सित्खाबाट भिरपानी हुँदै गोगनपानीसम्मको १० किलोमिटर सडक कालोपत्रको काम अगाडि बढेको छ । प्रदेश नम्बर ३ सरकारको लगानीमा उक्त सडक निर्माणको काम अगाडि बढाइएको हो । भिरपानीका वडा सदस्य भिम श्रेष्ठले सडक कालोपत्रे गर्ने काम अगाडि बढाउनको लागि निर्माण सम्पनीले १० किलोमिटर सडकको सर्भेको काम सम्पन्न गरिसकेको जानकारी दिए ।

वडा अध्यक्ष कार्कीले सडक निर्माण कार्यलाई गुणस्तरीय र समयमा नै निर्माण सम्पन्न गर्न सहयोग गर्ने उदेश्यले वडाले अनुगमन गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘सडक निर्माणको क्रममा देखिएका समस्या समाधान गछौ, निर्माण कम्पनीलाई गुणस्तरीय र समयमा नै काम गर्न भूमिका खेल्छौं ।’
दस मिटर चौडाई रहने उक्त सडकमा करिब छ मिटर कालोपत्रे हुनेछ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा रामेछापको चार वटा सडक कालोपत्रको काम अगाडि बढेको छ । जस अन्तर्गत सित्खाबाट भिरपानी हुँदै गोगनपानीसम्मको सडक पनि कालोपत्रे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्