अधिकार माग्ने मात्र हाेइन, नगरवासीले दायित्व पनि पूरा गर्नुपर्छः नगरप्रमुख वस्नेत



२२ वैशाक, रामेछाप ।
नगरपालिका अस्तव्यस्त भएको भन्दै मन्थली नगरपालिकाले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो बढिरहेको बेला नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेतले नागरिकहरुलाई पनि दायित्व निर्वाह गर्न आग्रह गरेका छन् । नगरपालिकाभित्र सडक विस्तार गर्ने क्रममा सरकारी जग्गामा समेत सडक निर्माण गर्न नदिने नागरिकहरुकै असहयोगकै कारण समयमा नै सडक निर्माणको काम सम्पन्न हुन नसकेको नगरप्रमुख वस्तेतले बताए ।

‘मन्थली बजारको थोरै मात्र भागमा सडक कालोपत्र भएको छ, चारैतिर सडक निर्माणको काम धमाधम भइरहेको छ’, उनले रामेछाप न्युजसँग भने,‘मन्थली नगरपालिकालाई व्यवस्थित बनाउने कार्यमा लागेका छौ, नागरिकहरुले पनि त साथ र सहयोग गर्नु पर्यो ।’

नगरपालिकाले राजश्व उठाउन खोज्दा असहयोग गर्ने, घरवहाल कर तिर्न तयार नहुने, घरको छतको पानी सडकमा हाल्ने, फोहोर व्यवस्थापनमा सहयोग नगर्ने, अनि अधिकार मात्र माग्ने यो अलि ठिक भएन कि ? नगरप्रमुख वस्नेतले भने । अधिकार खोज्ने नगरवासीले कर्तव्य पनि पूरा गर्नुपर्ने सुझाव दिदै उनले भने,‘विकास निर्माणमा एक्लो प्रयासले मात्र सम्भव हुँदैन, जबसम्म विकास निर्माणमा नागरिकहरुले अपनत्व महशुस गर्दैनन, तबसम्म विकासको कामले गति लिन सक्दैन ।’
पानी पर्दा हिलो र घाम लाग्दा धुँलो मन्थलीको विशेषता नै भइसकेको छ । गर्मी हुने मन्थलीमा धुलोको कारण नागरिकहरु हैरान भएका छन् । विकास निर्माणको नाममा जताततै अव्यवस्थि रुपमा निर्माण गरिएका सडकको कारण पानी पर्नासाथ बाढी आउने गरेको मन्थलीमा ढलको राम्रो व्यवस्थापन छैन् ।

प्रतिक्रिया दिनुहोस्