संघीय सरकारले उमाकुण्ड गाउँपालिकालाई विभेद गर्योः अध्यक्ष सुनुवार



२३ जेठ, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले संघीय सरकारले विनियोजन गरेको बजेटप्रति आपत्ति जनाएका छन् । उनले रामेछाप जिल्लाको ठूलो भू–भाग ओगटेको उमाकुण्ड गाउँपालिकामा बजेट विनियोजनमा विभदे गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

बजेट विनियोजनमा जनसंख्या र भूगोललाई प्राथमिकता दिएको बताए पनि आफ्नो गाउँपालिकालाई उपेक्षा गरेको बताउदै उनले रामेछाप न्युजसँग भने,‘विकास निर्माणमा पछाडि परेको गाउँपालिकालाई विकासको मुल प्रवाहमा ल्याउन बढी बजेटको खाँचो छ, संघीय सरकारले पनि विभेद गरेर बजेट विनियोजन गर्दा दुःखी छौं ।’

भौतिक पूर्वाधार निर्माणमा ठूलो बजेटको आवश्यकता छ, सीमित स्रोतबाट नागकिरहरुले अपेक्षा गरेको विकास निर्माणको काम अगाडि बढाउन निकै गाह्रो छ, उनले भने । यस चालु आर्थिक बर्षको लागि संघीय सरकारले २२ करोड बजेट विनियोजन गरेको थियो ।

२०७६।०७७ को लागि संघीय सरकारले बजेट बढाउने अपेक्षा गरिए पनि गत बर्ष भन्दा एक करोड मात्र थप गरेर २३ करोड मात्र बजेट विनियोजन गरेको छ । रामेछापको आठ वटा स्थानीय तह मध्ये उमाकुण्ड गाउँपालिकाका सबै भन्दा थोरै बजेट पाउने गाउँपालिकाको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्