दोरम्बा गाउँपालिकामा पहिलो पटक १५ सैयाको अस्पताल



२० फागुन, रामेछाप ।
दोरम्बा गाउँपालिकाभित्र पहिलो पटक १५ सैयाको अस्पताल सञ्चालनको लागि सरकारकाले स्वीकृती दिएको छ । गाउँपालिकाको पहलमा यस अघि नै डाक्टर सहितको सेवा सुचारु भएपनि अस्पतालको रुपमा मान्यता प्राप्त गर्न सकेको थिएन । दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य मन्त्रालयले अस्पतालको रुपमा स्तरउन्नती गर्ने निर्णय गरेको छ । यस अघि नै दोरम्बा गाउँपालिकाभित्र पहिलो पटक डाक्टर सहितको सेवा सुरु भएको थियो ।

अस्पताल स्वीकृत भएको अवस्थामा पनि दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क श्रेष्ठको पहलमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर पठाएको थियो । सरकारले १५ सैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गरेसँगै दोरम्बा गाउँपालिकावासीमा खुसीयाली छाएको छ । विगतदेखि नै पहल हुँदै आएपनि अहिले आएर अस्पताल सञ्चालनको सपना पूरा भएको स्थानीय उदय रानामगरले बताउनुभयो । उहाँले भन्नुभयो,‘अब सामान्य उपचार गर्न काठमाडौं जानु नपर्ने भो गाउँमै सुविधा पाउने भएपछि खुसी छौं ।’

दोरम्बा गाउँपालिकाले गत बर्ष नै दोरम्बामा रहेको स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार वेट राख्नको लागि प्रि–फ्याकको भवन समेत निर्माण गरेको छ । ल्याब, ऐक्सरे मेसिन लगायतको सामाग्री खरिद गर्नको लागि तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन गर्ने गरी दोरम्बाको प्राथमिक स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो । अहिले सोही भवनलाई नै अस्पतालको रुपमा स्तरउन्नती गरिने भएको छ ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले डाक्टर सहितको सेवा सञ्चालन गरेर जनतालाई सेवा दिइरहेको बताउदै अब अस्पताल नै सञ्चालन गर्ने निर्णयले खुसी भएको बताउनुभयो ।

दोरम्बामा अस्पताल सञ्चालन गर्नको लागि दोरम्बा गाउँपालिकाले २७ रोपनी जग्गा समेत आफ्नो नाममा ल्याइसकेको छ । हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालन गर्ने संघीय सरकारको नीति अनुसार दोरम्बा गाउँपालिकाको दोरम्बा स्वास्थ्य चौकीलाई पनि अस्पतालको रुपमा स्तरउन्नती गर्न लागेको हो ।

प्राथमिक स्वास्थ्य चौकी दोरम्बामा हाल डाक्टर सन्तोष श्रेष्ठले सेवा दिइरहनुभएको छ । हाल स्वास्थ्य चौकीमा ल्याब, भिडियो एक्सेर, एक्सरे लगायतको मेसिन उपलब्ध रहेको छ । स्वास्थ्य चौकीबाट दिसाब, पिसाब, रगतको परीक्षण हुनेछ भने सुत्केरी गराउने सेवा समेत उपलब्ध हुनेछ । त्यसैगरी हातखुँट्टा भाचिएका बिरामीहरुको पनि प्लास्टर अब दोरम्बा स्वास्थ्य चौकीबाट उपलब्ध हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्