रामेछापमा फरार कोराेना संक्रमित खोज्न रातभर प्रहरी परिचालन



२४ जेठ, काठमाडौं ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीका कोरोना संक्रमित व्यक्ति फरार भएपछि उनको खोजी गर्न रातभर प्रहरी परिचालन गरिए पनि अझै पत्ता लाग्न सकेको छैन् । स्वास्थ्य मन्त्रालयले गोकुलगंगा गाउँपालिकामा क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना संक्रमित भएको पुष्टि गर्नु अगाडि नै गाउँपालिकाले रिपोर्ट नेगेटिभ आएको जानकारीको आधारमा ११ जनालाई विदाइ गरेको थियो ।

तर लगत्तै जिल्ला स्वास्थ्य कार्यालयबाट ११ जनालाई रिपोर्ट पोजेटिभ आएको खबर गर्नासाथ गाउँपालिकाले बाटोमा पुगेका संक्रमितलाई सम्पर्क गरेर फर्काएको थियो । १० जना संक्रमित फर्किएर गाउँपालिकाको सम्पर्कमा आएपछि एक जना भने फरार रहेका छन् । उनको खोजी गर्न रातभर प्रहरी परिचालन गरेपनि अझै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘खोजी कार्य भइरहेको छ, पक्राउ पर्नासाथ जिल्ला अस्पताल रामेछाप ल्याउछौ ।’ पाठकले संक्रमित बसेका आसपासको क्षेत्रमा सिल गरेर सुरक्षा व्यवस्था कडाई गरेको जानकारी दिनुभयो । सम्पर्कमा आएका संक्रमित व्यक्तिहरुलाई राती नै जिल्ला अस्पताल रामेछापको आइसोलेनमा राखेर उपचार सूरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्