मैले कोरोना संक्रमितसँग हात मिलाएको छैनः अध्यक्ष सुनुवार



रामेछाप गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गाउँपालिकाका ११ जना कोरोना संक्रमितलाई रिपोर्ट आउनु अघि नै छोडेको भन्दै आलोचित बन्नुभएको छ । भारतबाट आएका १९ जना नागरिकहरुलाई कोरोना संक्रमित हुन सक्ने आशंकामा स्वाब संकलन गरेर परीक्षण गर्न सात दिन अघि काठमाडौं पठाइएको थियो । गाउँपालिकाले भारतबाट आएका व्यक्तिहरुलाई सुरक्षित रुपमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखेको थियो । तर शुक्रवार एक स्वास्थ्यकर्मीको सूचनाको आधारमा गाउँपालिकाले रिपोर्ट पोजेटिभ आएको भन्दै छोडिदियो । लगत्तै खबर आयो गोकुलगंगा गाउँपालिकाका ११ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको भनेर । त्यस लगत्तै गाउँपालिकाले घर हिडेका १० जना कोरोना संक्रमितलाई फर्काउन सफल भएपनि बेतालीका एक व्यक्ति भने फरार अझै फरार छन् । यसै विषयमा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारसँग रामेछाप न्युजले गरेको कुराकानीः–

पिसिआरको रिपोर्ट नआउदै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई तपाईले किन छोडनु भयो ?
–क्वारेन्टाइनमा बसेको १९ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौं पठाएसँगै हामीले नियमित रुपमा रिपोर्ट कहिले आउछ भनेर जानकारी लिइरहेका थियौ । शुक्रवार एक स्वास्थ्यकर्मीसँग सम्पर्क गर्दा उहाँले रिपोर्ट सबैको नेगेटिभ आयो भन्नुभयो । त्यसपछि हामीले सात दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुलाई घर जान भनेका हौ ।

तर ११ जनामा संक्रमित पुष्टि भयो नि त ?
–हामीले जानकारी लिएर नै घर फठाएका हौ । सूचनामा केही कमजोरी भयो । हामीले पनि चार बजेसम्म राखेको भए हुने रहेछ । स्वास्थ्य मन्त्रालयले गोकुलगंगा गाउँपालिकाका ११ जना संक्रमित भनेको खबर पाउनासाथ घर हिडेका व्यक्तिहरुलाई सम्पर्क गरेर धमाधम फर्काउने काम अगाडि बढायो । घर नपुग्दै १० जनालाई बीच बाटोबाटै पुनः क्वारेन्टाइनमा ल्याएर राती नै जिल्ला अस्पताल पुर्याउने काम गरेका छौं ।

एक जना त अझै फरार भएका छन, यो गाउँपालिकाको कमजोरी भएन ?
–हामीले जिम्मेवारीबोध गरेरै भारतबाट आएका व्यक्तिहरुबाट यदि संक्रमित भएर रहेछ भनेपनि घरपरिवार र समाजमा संक्रमण फैलिन नदिनकै लागि क्वारेन्टाइनमा राखेका हौं । खबर पाउनासाथ हामीले १० जनालाई फकायौ । एक जना सम्पर्कमा आउनुभएको छैन् । हामी खोजी गरिरहेका छौं । सूचनामा कमजोरी हुन जादा यस्तो अवस्था आएको हो । यो जनाजान भएको होइन । सावधानी अपनाउदा अपनाउदै पनि सुरुमा रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त गर्नाले यस्तो भएको हो ।

तपाईले त संक्रमित व्यक्तिहरुसँग हात मिलाएर विदाई गर्नुभयो भन्ने आरोप छ नि ?
–मैले संक्रमित कोही कसैसँग पनि हात मिलाएको छैन् । यो सरासर गलत हो । म उनीहरुको सम्पर्कमा नै छैन् । यस्तो हल्ला कसले फैलायो मैले बुझेको छैन् । हाम्रो स्वास्थ्य शाखाले गर्ने काम हो । सामाजिक दुरी कायम गर्नुपर्छ भनेर गाउँपालिकाले अभियान चलाएको छ । अनि मैले हात मिलाउने अंगलमाल गर्ने कुरा पनि हुन्छ । आरोप पनि पत्याउने लगाउनु नि ?

प्रतिक्रिया दिनुहोस्