तामाकोसी नदीमा रामेछाप जिल्लाकै लामो पक्की पुल बन्दै
स्नेहा सिल्वाल
२० माघ, काठमाडौं । रामेछाप जिल्लामा हालसम्मकै लामो पक्की पुल निर्माण हुनेभएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को तामाकोसी नदीमा निर्माण हुन लागेको पुल जिल्लाकै लामो हो । तामाकोसी नदीमा (फेदीखोला कुनौरी) बन्न लागेको पुलको लम्बाई २ सय ३० मिटर रहेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले बताएको छ ।
पुल महाशाखाले पुल निर्माणको कामको लागि ठेक्का सम्झौता समेत गरिसकेको पुल महाशाखाका एक इन्जिनियरले रामेछाप न्युजलाई बताए । उनका अनुसार २८ करोड ८३ लाख ११ हजार ७ सय रुपैयाँमा पुल निर्माण हुन लागेको हो । कालिका/कल्पवृक्ष जेभीले निर्माणको जिम्मा पाएको छ । पुलको डिजाइन गरेकै कम्पनीले पुल निर्माण गर्न लागेको हो ।
पुल महाशाखाका अनुसार आगामी तीन बर्षभित्रमा पुल निर्माण सम्पन्न हुनेछ । सदरमुकाम मन्थलीबाट रामेछाप जिल्लाको तीन गाउँपालिका जोडने उक्त पुल निर्माण भएपछि सहज हुनेछ । हाल मन्थलीको एरपोर्ट नजिकैबाट तीन गाउँपालिका जोडन पुल सञ्चालनमा रहेको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेले आफूहरुको पहलमा तामाकोसी नदीमा पुल निर्माणको काम अगाडि बढन लागेको बताए ।