स्वदेशी लगानीमै नेपालमा हजारौ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ: घिसिङ



२३ असार, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशी लगानीमा निर्माण गरिएको तामाकोसी जलविद्युत आयोजना नेपालाको इतिहासिक उपलब्धि भएको बताएका छन् । उनले स्वदेशी लगानीमा निर्माण भएको नेपालको हालसम्मकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण हुने ठूलो उपलब्धि भएको बताएका हुन् ।

नेपालको जलविद्युत् विकासको ११० वर्षको इतिहासमा यो एउटा ऐतिहासिक उपलब्धि हो, स्वदेशी लगानीमा निर्माण भएको आयोजनाबाट अब देशभित्र ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने मनोबल उच्च भएको छ, उनले भने । प्राविधिक कारणले तोकिएको समय भन्दा बढी समय लागेपनि आयोजना सञ्चालनमा आउनु सुखद विषय भएको बताउदै घिसिङले तामाकोसी जलविद्युत आयोजनालाई आधार बनाएर बनाएर अब देशभित्र सम्भाव्यता अध्ययन भएका ठूला आयोजनाहरुलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

माथिल्लो तामाकोशीका कारण मुलुकको विद्युत् प्रणालीको स्थायित्व र विश्वसनीयता बढ्ने मात्रै नभई प्राधिकरणको लागि मुनाफा कमाइदिने एकदमै राम्रो आयोजना भएको उनले बताए ।‘तामाकोसी जलविद्युत आयोजना नेपाली प्राविधिक र व्यवस्थापकहरूलाई एउटा महत्वपूर्ण पाठशाला हो’,घिसिङले भने,‘आगामी दिनमा योभन्दा ठूलाठूला आयोजनाहरू विकास गर्न धेरै अनुभव र आत्मविश्वास बढेको छ ।’ नेपालको जलविद्युत् विकास स्वदेशी पूँजीबाटै गर्न सकिने बताउदै उनले हजारौ मेगावाट जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने बताए ।

देशभर गरेर करिब ५ हजार जलविद्युत आयोजनाहरुको डिटेल डिजाइन भइसकेको स्मरण गर्दै घिसिङले झण्डै १ हजार मेगावाटको अरुण जलविद्युत आयोजना पनि स्वदेशी लगानीमा अगाडि बढाउनु पर्ने बताए । स्वदेशी लगानीमा जलविद्युत आयोजना निर्माण गर्दा देशको पुँजी नबाहिरिने बताउदै उनले भने,‘नेपालको पानी जनताको लगानी भन्ने नारालाई कार्यान्वयन गर्न पनि अब ठूला जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्छ ।’ ठूला जलविद्युत आयोजना स्वेदशी लगानीमै निर्माण गर्न सकेको अवस्थामा देशको पुँजी बचाउन ठूलो मद्दत पुग्न भएकाले अब ठूला जलविद्युत आयोजना निर्माण गरेर देशलाई समृद्ध बनाउन सकिने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्