माओवादीको विधान परिमार्जनसहित पारित



१७ पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको विधान सर्वसम्त रुपमा पारित भएको छ । केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८ औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो ।
बन्द सत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामाथि आएको सुझावसहित विधान पारित भएको हो । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित थियो ।
सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतिले पार्टीको विधान पारित गरेको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ भएको छ । माओवादीको विधान अनुसार अब केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा त्यसलाई बढाएर १५ प्रतिशत पु¥याइएको नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।
अनुमोदित विधानअनुसार अब माओवादीको १५ जनाको पदाधिकारी रहने भएको छ । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकार चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गरिने व्यवस्था विधानमा गरिएको छ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने सुनिश्चितता विधानमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्