जिल्ला अदातल रामेछापको फैसलाः खाँडाँदेवी गाउँपालिकामा दिनडहाडै महिलाको सुन लुटने तामाङ जेल चलान



१९ माघ, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–७ बतासेकी ३५ बर्षिय सीता मगरले कानमा लगाएको सुन लुटेर रगेहात पक्राउ परेका सुनापति गाउँपालिका–३ हिलेदेवीका २४ बर्षिय सोम बहादुर तामाङ जेल चलान भएका छन् । पक्राउ परेका तामाङमाथि अनुसन्धान सकेर उनको विरुद्ध चोरी मुद्दामा  जिल्ला अदालत रामेछापमा प्रहरीले जाहेरी दर्ता गराएको थियो । सो मुद्दामाथि सुनुवाई गर्दै आज जिल्ला अदालत रामेछापले तामाङलाई १ बर्ष जेल र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । जिल्ला अदालतको फैसला अनुसार आज नै तामाङ जेल चलान भएका छन् ।

लुटपाट भएको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा गाल्वाबाट खटिएको प्रहरीले सुनापति गाउँपालिका २ फलामेपोखरी सामुदायिक बनबाट नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट प्रहरीले २ थान रिङसहित नियन्त्रणमा लिन सफल भएको थियो । सुन लुटेर फरार भएको तामाङलाई पक्राउ गर्न सफल भएकोमा पीडित सीता थापाले प्रहरीलाई धन्यवाद दिएकी छिन् । लुटेको सुन आफूले पाउने आशा मारे पनि प्रहरीले सुन लुटनेलाई पक्राउ गरेर जेल पठाउन सफल भएकोमा खुसी छु, उनले भनिन ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले कुनै पनि अपराधिक गतिविधि रोक्न आफूहरु प्रतिबद्ध रहेको बताउदै यदी कुनै घटना भइहालेको अवस्थामा तत्काल प्रहरीलाई जानकारी दिन रामेछापवासीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्