रामेछाप जिल्ला अब सिसी क्यामेराको निगरानीमा, जडान गरियो ८१ वटा सिसी क्यामेरा



२३ असार, रामेछाप ।
रामेछाप जिल्लाभित्र हुन सक्ने सम्भावित अपराधिक गतिविधि रोक्नको लागि जिल्लाका मुख्य नाका–नाकामा सिसी क्यामेरा जडान गरिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका सेलेघाट, लुभ, सित्खा साँघुटार लगायतको स्थानमा हाल सिसी क्यामेरा जडान गरिएको छ ।

सबै भन्दा बढी सदरमुकाम मन्थलीमा सिसी क्यामेरा जडान भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदिप कुमार सिंहले जिल्लाका विभिन्न स्थानमा गरेर हालसम्म ८१ वटा सिसी क्यामेरा जडान गरेर निगरानी हुँदै आएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार स्थानीय तहको सक्रियतामा सिसी क्यामेरा जडान गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढेको छ ।

पछिल्लो समयमा रामेछापका बजार क्षेत्र र नाकाहरुमा प्रहरीको सक्रियतामा स्थानीय तहको सहयोगमा सिसी क्यामेरा जडान हुँदै आएको छ । सिसी क्यामेराबाट हराएको खसी, सुन मोबाइल लगायतको सामान समेत यसअघि प्रहरीले पत्ता लगाएर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिसकेको छ । जिल्लाभित्र जडान गरिएका सिसी क्यामेराहरुको निगरानी जिल्ला प्रहरी कार्यालयका विभिन्न कार्यालयहरु हुँदै आएको छ । डिएसपी सिंहका अनुसार अझै जिल्लाभित्र विभिन्न स्थानमा गरी ३० वटा भन्दा बढी सिसी क्यामेरा जडान गर्न आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्