हवाई सुरक्षा सुधारबारे छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन



संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई दुर्घटनाका विषयमा विज्ञ व्यक्तिहरु सम्मलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको छ । सरकारले दुर्घटनापिच्छे छानबिन आयोगहरु गठन गर्ने, तर त्यसबाट परिणाम नआउने अवस्था देखिएको भन्दै समितिले हवाई सुरक्षाको अवस्था, मापदण्ड र सुधारका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको हो ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा पछिल्लो समय भएका हवाई दुर्घटनाहरुको समीक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सम्बद्ध अधिकारीहरुसँगको छलफलपछि समितिले यसअघि समितिले निर्देशन गरिसकेका, तर सरकारले कार्यान्वयन नगरेका विषयहरु समेत पुन: स्मरण गराएको छ ।
समितिका सभापति राजकिशोर यादवले पछिल्लो समय निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानबिन समितिहरु बनेपनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको भन्दै नेपालको हवाई सुरक्षा, सुरक्षा मापदण्डको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धी कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए/नभएको सम्बन्धमा १५ दिन भित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिश गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिइएको बताए ।

उनका अनुसार समितिले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको भन्दै उक्त नीति तत्काल तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।

हवाई नीति, २०६३ सालदेखि कार्यान्वयनमा आएतापनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएको भन्दै समितिले यसअघि नै उक्त नीति तर्जुमा गर्न निर्देशन दिएको थियो । बिहीबार मन्त्री पाण्डेको उपस्थिति रहेकोमा समितिले पुन: स्मरण गराएको हो । सभापति यादवले समितिले पटक-पटक मन्त्रालयलाई निर्देशन दिने गरेको, तर सरकारले कार्यान्वयन नगरेको भन्दै त्यस्ता निर्देशनहरु कार्यान्वयन गर्न पुन: स्मरण गराइएको बताए ।

‘नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसद्‌मा पेश गर्न/ गराउन सरकारलाई निर्देशन दिने निर्णय भएको छ,’ सभापति यादवले भने ।

समितिले यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदल मार्फत पेश भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरु के कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्