सहिदको सपना बिर्सिएका छैनौःसांसद श्रेष्ठ



१९ पुस, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं युवा नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले सहिदले देखाएको सपना पूरा गर्ने प्रतिबद्ध रहेको बताएका छन् । उनले बेथानको पानीघाटमा भएको जनयुद्धको सफल फौजी कारवाहीकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउदै जनयुद्धबाट प्राप्त उपलब्धि संस्थागत गर्न माओवादी प्रतिबद्ध रहेको बताएका हुन् ।

२० औं बेथान वीरता स्मृति दिवसको अवसरमा रामेछापको बेथानस्थित तिफदी स्मारकमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले संविधानलाई कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताए । उनले प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध गर्दा निर्वाचन सम्बन्धि कानुन बन्न नसक्दा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन नसकेको बताए ।

विकास निर्माणमा लाग्छु
सांसद श्रेष्ठले रामेछाप क्षेत्र नम्बर २ को विकास निर्माणको लागि आफू प्रतिबद्ध रहेको बताए । उनले भने,‘राजधानीसँग जोडन सुनकोसीस्थित खैरेनीघाटको पुल निर्माणमा रातदिन लागेको छु जति सक्दो छिटो निर्माण गराउन लागि परेको छु ।’ श्रेष्ठले जिल्लाका सडकहरुको स्तरउन्नती कालोपत्रेको लागि पनि बजेट बृद्धि गर्नको लागि आफू लागि परेको बताए । उनले भुकम्प पीडितले पाउन राहत तत्काल दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा नेकपा माओवादीका नेता धावा लामा, पूर्व सभासद डिल्लीमान तामाङ, नेता कमान मोक्तान, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मनोज केसी, स्थानीय शान्ति समिति रामेछापका संयोजक लेखबहादुर कार्की लगायतले स्मृति सभालाई सम्बोधन गरेका थिए ।

बीरता दिवसमा तिफदीको सम्झना
माओवादीले हरेक बर्ष पुस १९ गते बेथान वीरता दिवसको रुपमा मनाउदै आएको छ । २०५३ साल पुस १९ गते राती माओवादीले घरेलु हतियार प्रयोग गरेर बेथानको पानीघाटमा रहेको प्रहरी चौकी आक्रमण गरी हतियार कब्जा गर्न सफल भएको थियो ।

चौकी आक्रमणको क्रममा माओवादीबाट तिर्थ गौतम, फत्तबहादुर स्लामी मगर र दिलमाया बम्जन तामाङले सहादत प्राप्त गरेका थिए । माओवादीले बेथान चौकी कब्जा गरेर ल्याएको हतियार जनयुद्धको समयभर प्रयोग गरेको थियो । माओवादीले बेथान चौकीका हातहतियारसँगै गोली गठठा समेत कब्जा गरेको थियो । माओवादीलेको आक्रमणमा परी प्रहरी चौकीका कार्यरत भरत अधिकारी र एक प्रहरी जवावको मृत्यु भएको थियो । बेथानकै सम्झनामा माओवादीले जनयुद्धको बेलामा बेथान स्मृति ब्रिगेट बनाएको थियो । छापामार युद्धलाई उचाइमा पुर्याउन बेथान प्रहरी चौकी आक्रमणले माओवादीलाई नयाँ उचाइमा पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्