दोरम्बाको मानेडाँडामा बन्यो गोलघर



नारायण श्रेष्ठ

६ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाको मानेडाँडामा सार्वजनिक प्रतिक्षालय (गोलघर) निर्माण भएको छ । दोरम्बा वडा कार्यालय र नन्दाबक्स गणको संयुक्त लगानीमा नागरिकहरु विश्राम गर्ने प्रतिक्षालय निर्माण गरिएको हो ।


नवनिर्मित प्रतिक्षालयको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र नन्दावक्स गण रामेछापका प्रमुख सेनानी दिवाकर रायमाझीले संयुक्त रुपमा उदघाटन गरे । दोरम्बाको मानेडाँडामा निर्माण भएको प्रतिपक्षालयमा करिब २५ जनासम्म अटाउने छन् ।


दाेरम्बा गाउँपालिकाकाे एक लाख र नन्दाबक्स गणको करिब तीन लाखको सहयोगमा प्रतिक्षालय निर्माण भएपछि बजारवासी खुसी भएका छन् । वडा कार्यालयसँग रहेको प्रतिपक्षालयमा अब सर्वसाधारणलाई विश्राम गर्न सहज हुनेछ । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले नेपाली सेनाले गरेको सहयोगको प्रशसा गर्दै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।


नन्दाबक्स गणका रामेछापका गणपति रायमाझीले नागरिक सैनिक सम्बन्ध सुदृढिकरण कार्यक्रम अन्तर्गत प्रतिक्षालय निर्माण गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।


कार्यक्रममा दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले नेपाली सेनाले गरेको सहयोगको प्रशसा गर्दै आगामी दिनमा पनि स्थानीय सरकार र नेपाली सेनाबीच सहकार्य अगाडि बढनु पर्ने बताए । नन्दाबक्स गण दोरम्बा गुल्मका गुल्मपती सेनानी रामचन्द्र कटुवालको पहलमा प्रतिक्षालय निर्माण गरिएको हो । दोरम्बा पर्यटकीय गन्तव्य गाउँको रुपमा घोषणा भएसँगै पर्यटकहरुको आगमनमा बृद्धि भएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्