विकास निर्माणको काम समयमै सक्न मन्त्री ढुंगेलको निर्देशन



१७ भदौ, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विकास निर्माणको काम समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनले सरकारले विकास निर्माणको काम अगाडि बढाए पनि निर्माण व्यवसायीले समयमा नै सम्पन्न नगर्दा त्यसको दोष सरकारले खेप्नु परेको बताए । मन्त्री ढुंगेलले भने,‘निर्माण व्यवसायीले सम्झौता अनुसार समयमा नै काम सम्पन्न गर्दैनन्, अब यो प्र्र्रवृत्ति स्वीकार्य छैन, समयमा नै काम नगर्ने निर्माण व्यवसायीमाथि कारवाही हुन्छ ।’


रामेछापको सदरमुकाम मन्थलीमा निर्माण हुन लागेको मन्थली बहुउदेश्य कर्भड हलको मंगलवार शिलान्यास गर्दै मन्त्री ढुंगेलले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार विकास निर्माणको काममा जोड दिएको बताए । उनले भने,‘जिल्लामा अहिलेसम्म हुन नसकेको विकास निर्माणको काम अगाडि बढेको छ, आगामी दिनमा योजनाबद्ध रुपमा विकास निर्माणको काम अगाडि बढछ ।’

मन्त्री ढुंगलेले कर्भड हल निर्माणको लागि बजेटेको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । करिब १३ करोड लागतमा निर्माण सुरु भएको कर्भट हल जिल्लाकै पहिलो हो । कर्भड हलमा बास्केट बल, भलिवल, टेबुलटेनिस, ब्यागमिन्टल लगायतका खेलको प्रशिक्षण र खेल आयोजना गर्न मिल्नेछ ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत, नगर उपप्रमुख, माया कार्की, नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराई लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्