लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्का नेकपाबाट निलम्बित



२० भदौ, रामेछाप ।
पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पार्टीले निलम्बन गरेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीको बैठकले खड्कालाई अर्को निर्णय नभएसम्म निलम्बन गर्न जिल्ला कमिटी रामेछापलाई पत्राचार गरेको छ ।

लिखु तामाकोसी गाउँ कमिटीमा आबद्ध नेकपाका जिल्ला कमिटीका सदस्यहरुले खड्काले पार्टीलाई बदनाम गरेको भन्दै प्रदेश कमिटी समक्ष लिखित रुपमा कारवाहीको माग गरेका थिए । जिल्ला कमिटी रामेछापको सचिवालय र कार्यालय टिम गठन नभइसकेकाले प्रदेश कमिटीले निलम्बन गर्ने निर्णय गरेको हो ।


विद्युतीकरणको बारेमा लिखु तामाकोसी गाउँपालिकामा अध्यक्ष खड्का र उपाध्यक्ष सहित बहुमत सदस्यबीच विवाद देखिएको छ । गाउँपालिकाका अध्यक्ष खड्कासँग फिरौती माग्नेलाई प्रहरीले गोली प्रहरा गरी पक्राउ गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ ।

त्यसैगरी फिरौती माग्न योजना बनाएको आरोपमा उपाध्यक्ष दिपशिखा दाहाल सहित वडा अध्यक्षको नाममा अदालतमा अध्यक्ष खड्काले किटानी जाहेरी दिएका छन् । अध्यक्ष खड्काले पार्टीको नीति विपरीत गाउँपालिका योजना सञ्चालन गरेर जनता समक्ष पार्टीलाई बदनाम गरेको गोली काण्डको विषयलाई लिएर गाउँपालिकाका नेताहरुमाथि किटानी जाहेर गरेपछि पार्टीले निलम्बन गर्ने निर्णय गरेको हो ।

नेकपा रामेछापका सचिव शान्ति पौडेलले प्रदेश कमिटीले लिखु तामाकोसीको विवादको बारेमा आफूहरुसँग परामर्श गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘खड्का निलम्बन गर्ने निर्णय भएको भएको हो, आधिकारीक पत्र प्राप्त भइसकेको छैन् ।’

खड्कालाई पार्टीले निलम्बन गरेपनि आगामी दिनमा आफ्नो कार्यशैली सच्याएको अवस्थामा पार्टीले निलम्बन फिर्ता लिन प िसक्छ, सचिव पौडेलले भने । प्रदेश कमिटीले नेकपा रामेछापका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवसँगको परामर्शपछि खड्कालाई लिनम्बन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्