जोखिमयुक्त वस्ती छोडेर सुरक्षित स्थानमा सर्ने भुकम्प पीडितलाई थप २ लाख, रामेछापका ७३ बस्ती जोखिममा



२८ फागुन, काठमाडौं ।
भुकम्पको कारण जोखिमै रहेको वस्तीमै भुकम्प पीडितहरुले धमाधम घर निर्माण गर्न थालेपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले जोखिमयुक्त वस्ती छोडेर सुरक्षित घर निर्माण गर्न जग्गा खरिदको लागि प्रत्येक घर धुरीलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । भुकम्प गएपछि सरकारले एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेपनि सरकारकै नेतृत्वमा भुकम्पबाट प्रभावित कुनै पनि जिल्लामा एकीकृत वस्ती निर्माण हुन सकेको छैन् ।

कलाकार धुर्मुस सुन्तली काभ्रेको पहरी वस्ती र सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना वस्ती निर्माण गरेपनि अन्यत्र कतै पनि एकीकृत वस्ती निर्माण हुन सकेको छैन् । भुकम्प गएको २३ महिनाको अवधिमा सबै भुकम्प पीडितले अझैसम्म पहिलो किस्ता अनुदान प्राप्त गर्न सकेका छैनन् । भुकम्पपछि सरकार जोखिमयुक्त वस्तीको पहिचान गरेपनि त्यहाँका भुकम्प पीडितलाई सुरक्षित स्थानमा सार्ने कार्यक्रम अगाडि बढाउन सकेको छैन् ।
सरकारले जोखिमयुक्त बस्तीको पहिचान गर्न प्राधिकरणले गठन गरेको कार्यदलले करिब एक हजार पाँच सय घरधुरीलाई सुरक्षित स्थानमा सार्नका लागि रकम उपलब्ध गराउनुपर्ने सिफारिस गरेको थियो । सुरक्षित स्थानमा घर बनाउन चाहनेहरूले जग्गा खरिदका साथै निजी आवास निर्माणका लागि पनि अन्य लाभग्राहीसरह तीन लाख रुपियाँ पनि पाउनेछन् ।
यसैगरी बैठकले भूकम्पका कारण कम प्रभावित भनिएका १७ जिल्लामध्ये सर्वेक्षण सकिएका १४ जिल्लाका १५ हजार ७४३ जनालाई लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरेको छ । लाभग्राहीसँग अनुदान सम्झौताका लागि प्राधिकरणका कार्यकारी सदस्य संयोजक रहेको टोलीले मंगलबारदेखि जिल्लामा गएर अभिमुखीकरण तालिम दिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द्र पोखरेलले बताए ।
रामेछापका ७३ बस्ती जोखिममा
२३ महिना अघि गएको विनाशकारी भुकम्पको कारण ७३ वस्ती जोखिममा परेका छन् । सांसदहरुको टोलीले जोखिममा परेका बस्तीको लगत संकलनको क्रममा ७३ स्थान जोखिममा रहेका प्रतिवेदन बुझाएको थियो । सभासदहरुले रामेछापको कुभुकास्थली गाविसको लाफ्रा, कोरन्दु, सल्लेखरी निस्तली, खिम्तीको केउरीनी विर्ता र गैरी, गागलको गोगने, गुन्सीको सिमटार, विर्ता र गुन्साल, गुप्तेश्वरको चुलेपु र ढुंगे, गुम्देलको लाहाछेवर, पेकरनास र कोरम, गेलुको जल्केनी र पेटासी, गोठगाउँका तीनवटा वडा, गौश्वाराको टेक्सिङ, तामाङदर्घा, चनखुको पाथरवुटा, चुचुरेको गर्जाङ र शिवालय, टोकरपुरको तिनकुवा पहिरो, ठोसेको ठोसेवजार, दिमीपोखरीको जांते, दुरागाउंको होपिना, नामाडीको भित्तरी मझुवा र चाचलालाई जोखिम भनेका छन् ।
यसैगरी पुरानागाउको बाहुनचुरा, फर्पुको ओख्रे दुधिले र मझुवा , वाम्तीको ठाडोखोला, थाप्रा र रोशी , बेथानको केउरीनी, लोप्राङ, भलवाडि र वेथान, भिरपानीको लाक्पा, भुजीको चार वटा वडा, मझुवाको चुल्ठेपानी, मन्थली नगरपालिकाको गैह्राथोक, माकादुमकको गोगनेचौर र आंगेटार, रस्नालुको सल्ले, रामेछाप नगरपालिकाको फलाटेखोला, ओख्रेनी होदिल, वादीखोला, भिरपानी र मुडाजोर, लखनपुरको डिरखानी लप्सीवोटे, सैपुको ज्यागवादी, पुलु , अमलवोटे र डुम्रे र हिलेदेविको साउने केउरीनी जोखिममा रहेको भनिएको छ । भुजि, कुभु, गैह्राथोक, देउराली, लप्सीवोट, होपिना, होदिल जलकिनी, पुलु लगाएतको स्थानमा पहिरोको उच्च जोखिम रहेको बताइएको छ । धेरै स्थानको जमिन फाटेर धांजा परेपछि त्यस क्षेत्रका बासिन्दा आतंकित वनेका छन् । तर उनीहरुलाई हालसम्म गाउँपालिका र नगरपालिकाले अन्यत्र बसोवासको प्रवन्ध गराएका छैनन् । रामेछापका भुकम्प पीडित जोखिमयुक्त वस्तीमा नै घर निर्माणमा जुटेका छन् ।

रामेछाप क्षेत्र नम्बर १ का सांसद आङटावा शेर्पाले भुकम्पको कारण जोखिमयुक्त वस्तीलाई सार्नु पर्ने भएपनि सरकारले पर्याप्त ध्यान दिएको बताए । उनले भने,‘ पहिरोको जोखिममा रहेका बस्ती सार्नुपर्ने छ विशेषगरी दुरागाउँ त चिराचिरा नै परेको छ जुन वस्ती तत्काल सार्नुपर्छ  ।’

राष्ट्रिय पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषि आचार्यकाले रामेछाप जिल्लामा ७३ वटा वस्ती जोमिखममा रहेको अध्ययन भएपनि अहिले दुरागाउँ, भुजी, लखनपुर लगायतका बस्ती जोखिममा रहेको रामेछाप न्युजलाई बताए । उनले जोखिमयुक्त वस्ती छोडेर अन्यत्र सुरक्षित स्थानमा सर्ने भुकम्प पीडितलाई सरकारले दुई लाख रुपैयाँ दिने निर्णय अनुसार जोखिमयुक्त स्थानका भुकम्प पीडितहरुलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्