गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको मुहार फेर्ने सडक निर्माण धमाधम



१९ कात्तिक, रामेछाप ।
रामेछापको दुई गाउँपालिकाको केन्द्र हुँदै सोलुखुम्बु जिल्लासम्म जोडने सडक कालोपत्रेको काम धमाधम अगाडि बढेको छ । लिखु तामाकोसी गाउँपालिकाको खिम्ती जिरो किलोमिटर हुँदै गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालु र उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितिसम्म जोडने सडकको कालोपत्रे सुरु भएको हो ।

बागमती प्रदेश सरकारको लगानीमा  हाल सडकको पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । यस सडकलाई सदरमुुकाम मन्थली र राजधानी काठमाडौं जोडने रणनैतिक सडकको रुपमा लिइएको छ । खिम्ती रस्नालुसँग जोडने सडक चार बर्ष अघि नै निर्माण सुरु भएपनि कामले गति लिन सकेको थिएन । तर उक्त सडक प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएसँगै अहिले गति लिएको छ ।

यस आर्थिक बर्षमा खिम्ती–नामाडी–बेताली रस्नालु सडक अन्तर्गत करिब ११ किलोमिटर सडक कालोपत्रे हुन लागेको बागमती प्रदेशका सांसद शान्ति पौडेलले बताउनुभयो । दुई गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोडने रणनैतिक सडक कालोपत्रे गर्ने कार्यक्रम अगाडि बढाइएको बताउदै उहाँले जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बतउनुभयो । यस आर्थिक बर्षमा तीन खण्डमा कालोपत्रे हुने पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिम्लिसिनाले रामेछाप न्युजलाई बताउनुभयो ।

खिम्ती बेताली रस्नालु प्रिति हुँदै सिंगटीसम्मको सडक निर्माण भएपछि दुई गाउँपालिकाको अधिकाशं क्षेत्रलाई यस सडकले प्रत्यक्ष फाइदा पुर्याउनेछ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले सडक निर्माणको काम विगतमा सुस्त भएपनि यस बर्ष केही आशा लाग्दो गरी अगाडि बढेको बताउनुभयो । ‘सडक कालोपत्रे भएपछि गाउँपालिकाभित्र उत्पादित कृषिजन्य वस्तु बजारमा पठाउन निकै सजिलो हुन्छ’,उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सडक कालोपत्रे भएपछि गाउँपालिकावासीले बर्षाको समयमा सास्ती खेप्नु पर्दैन ।’

सडक कालोपत्रे नहुँदा बर्षाको समयमा नागरिकरुले सास्ती खेप्दै आएका छन् । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाभित्र सडक कालोपत्रे गर्ने काम अगाडि बढेको बताउनुभयो । कालाचौतारा प्रिति हुँदै सिंगटीसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाकै दुर्गम गाउँपालिकामा पनि पहिलो पटक कालोपत्रेको काम धमाधम अगाडि बढेको छ, यस बर्ष करिब सात किलोमिटर सडक कालोपत्रे हुन्छ ।’

हरेक स्थानीय तहको केन्द्रसम्म सडक कालोपत्रे गर्ने सरकारको नीति अनुसार रामेछापको स्थानीय तहमा पनि सडक कालोपत्रेको काम अगाडि बढेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले खिम्ती रस्नालु प्रितिसम्म जोडने सडकको कालोपत्रेलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘दुई गाउँपालिका जोडने सडक कालोपत्रे गर्न बहुबर्षिय आयोजनामा राखेर प्राथमिकताको साथ बजेट विनियोजन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्