रामेछापमा दुई दिनमा १४ हजार नागरिक भित्रिएपछि कोरोना झन फैलने त्रास (फोटोफिचर)
१५ वैशाख, रामेछाप ।
सरकारले काठमाडौं उपत्यकामा लकडाउन गर्ने निर्णयसँगै रामेछापमा घर फर्कनेको भिड बढेको छ । सरकारले दुई दिन घर फर्किन दिएको समय अनुसार रामेछापका नागरिकहरु धमाधम घर फर्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुई दिनमा जिल्लाका विभिन्न नाका हुँदै १४ हजार भन्दा नागरिकहरु जिल्ला प्रवेश गरेको छ । दुई दिनको अवधिमा जिल्ला प्रवेश गर्ने मुख्य नाका सेलेघाटबाट मात्र बस, टाटासोमु, माइक्रो बस लगायतका २३४ वटा सवारी साधनमार्फत झण्डै छ हजार यात्रु भित्रिएका छन् । त्यसैग्री सित्खा र लुभुघाट, चौरीखोला लगायतको नाकाबाट करिब ८ हजार नागकिरहरु भित्रिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जिल्लाभित्र प्रवेश गरिएका सवारी साधनको चेकजाँच गरेर मात्र प्रवेश गर्न दिइएको बताए । विभिन्न नाकाबाट आज साँझसम्मको तथ्याङक अनुसार करिब १४ हजार यात्रु भित्रिएको उनले बताए ।
काठमाडौं सहित विदेशबाट समेत जिल्लाभित्र नागरिकहरु फर्किएपछि कोरोना संक्रमण फैलिन त्रास पनि बढेको छ ।

