शान्तिको कारण रामेछापमा एमाले शान्त



२३ भदौ, रामेछाप ।
अन्तिम समयमा आएर शान्ति पौडेलले माधव कुमार नेपालको साथ छोडदा रामेछापमा अन्य जिल्लाको तुलनामा नेकपा एमाले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा जानको संख्या थोरै देखिएको छ । दस बुँदे सहमति कार्यान्वयन हुने भएपछि पौडेल नेपाल नेतृत्वको पार्टीमा नजाने निष्कर्ष सहित एमालेमै रहने निर्णय गरेका थिए ।
उनका कारण रामेछापमा नेकपा (एस)मा जाने जनप्रतिनिधिहरुको संख्या पाँच जना मात्र रहेको छ । पौडेलले नयाँ पार्टी रोजेको अवस्थामा एमाले छोडेर नेपाल नेतृत्वको पार्टीमा अझै बढी जनप्रतिनिधि जाने आकलन गरिएको थियो । जिल्लाको प्रदेश निर्वाचन ‘क’मा पौडेलको राम्रो प्रभाव रहेको छ ।
लामो समय एमालेको राजनीतिमा क्रियाशिल पौडेल पार्टीको जिल्ला अध्यक्ष भएको कारणले पनि स्वभाविक रुपमा प्रभाव पर्ने थियो । तर उनले पार्टी विभाजनबाट अगाडि बढन नसकिने बताउदै दस बुँदे सहमति कार्यान्वयन मार्फत अहिले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।


यसअघि पार्टीका अध्यक्ष रहेको आनन्द श्रेष्ठले अध्यक्षको जिम्मेवारी पौडेललाई सुम्पिदै सचिवको जिम्मेवारी सम्हालेका छन् । रामेछापमा एमालेबाट निर्वाचित मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले एमालेप्रति असहमति जनाउदै मंगलवार मात्र जिल्ला निर्वाचन कार्यालय रामेछापमा पुगेर नेकपा (एस)मा सनाखत गराएका थिए ।
वस्नेतसँग गोकुलगंगा गाउँपालिका–५ नामाडीका वडा अध्यक्ष बलराम खड्काले पनि एमाले छोडर नेकपा (एस) रोजेका छन् । गेलुका दुई जना वडा सदस्य र लिखु तामाकोसी गाउँपालिकाका एक दलित गाउँ कार्यपालिकाका महिला सदस्यले एमाले छोडेकी छिन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट १ सय ६५ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
एमाालेभित्र देखिएको विभाजनको प्रभाव रामेछापमा निकै कम मात्रामा परेको छ । यसअघि माधव नेपाल समुहमा रहेर जिल्लामा समानान्तर कमिटीमा गठन गरिए पनि ती अधिकांश कमिटीका सदस्यहरु पार्टी विभाजनको विपक्षमा देखिएका छन् । ७३ सदस्यीय एमाले रामेछापको जिल्ला कमिटीमा रहेका सदस्यहरु मध्ये नगन्य रुपमा मात्र नेकपा (एस)मा लागेका छन् । जिल्ला कमिटी, गाउँ÷नगर कमिटी र वडा कमिटीमा एमालेको विभाजनको प्रभाव कम परेको छ ।
नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति पौडेलले पार्टी विभाजन कसैको पनि हितमा नरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टीभित्र विचार र सिद्धान्तमा बहस हुन्छ, तर विभाजन गलत बाटो हो ।’ दस बुँदे सहमति मार्फत आफूले अहिले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेको बताउदै उनले पार्टीलाई सुदृढ बनाएर लैजान सक्दो भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्