बाढीले फेरि बगायो बीपी राजमार्ग, तत्काल यातायात नखुल्ने



काठमाडौं । लगातारको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग पुनः बगाएको छ । गत बर्ष असोजमा आएको बाढी पहिरोको कारण बिपी राजमार्गको चौकीडाँडादेखि नेपालथोक खण्डमा करिब १२ किलोमिटर पूर्ण रुपमा बगाएको थियो । सडक विभागले लगत्तै अस्थायी ड्राइभर्सन बनाएर हाल यातायात सञ्चालनमा ल्याएको थियो । तर आज पुनः अस्थायी ड्राभइर्सन पनि बगाएपछि केही दिन यस सडकमा यातायात सञ्चालन नहुने देखिएको छ । काभ्रे खण्डमा ९ भन्दा बढी स्थानमा सडक कटान भएको सडक विभागको प्रवक्ता प्रभात झाले जानकारी दिए ।


इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार असोज १८ गते साँझ ५ः४५ बजेतिर बाढीले ठुलो क्षति पुर्‍याएको छ। रोशी गाउँपालिका–९ स्थित बोक्सिकुनामा खोलाले करिब २०० मिटर सडक कटान गरेको छ। यस्तै, रोशी गाउँपालिका–७ को घुमाउनेमा १५ मिटर र नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा करिब २० मिटर सडक बगाएको छ। रोशी गाउँपालिका–११ को बुलढुंगा र डालाबेसीमा १०० मिटर तथा पिप्लेमा करिब ५० मिटर सडक पनि कटान भएको छ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकाबाट पूर्वी जिल्लातर्फ जाने र आउने लामो तथा छोटो दूरीका यात्रुहरू मर्कामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्