बीपी राजमार्गको विकल्पमा खुर्कोट मन्थली–चरिकोट दोलालघाट हुँदै काठमाडौं जान सकिन्छः नारायणदत्त भण्डारी
काठमाडौं ।
राजधानी काठमाडौं प्रवेश गर्ने बीपी राजमार्ग रोशी खोलामा आएको बाढीको कारण पूर्ण रुपमा अवरुद्ध भएसँगै काठमाडौं जाने वैकल्पिक राजमार्ग सञ्चालनमा ल्याइएको छ । पूर्वी पहाड र मधेस प्रदेशबाट बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधन आजबाट बीपी राजमार्गको खुर्कोटबाट मन्थली, चरिकोट दोलालघाट हुँदै काठमाडौं जान थालेका छन् । बर्षाको कारण सामान्य पहिरो खसेको स्थानमा पहिरो हटाएर आजबाट सवारी साधन सञ्चालनमा ल्याएको हो । दोलखाको कालीदहमा भारिएको सडकको मर्मत गरेलगत्तै सवारी सञ्चालनमा आएको छ ।

सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख नारायणदत्त भण्डारीसहितको टोली बिहानबाटै सडक सुचारु गराउन खटिएको थियो । कालिदहमा एकतर्फी रहेको सडकलाई भोलिबाट दुईतर्फी नै सञ्चालन गर्ने योजना रहेको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । उहाँकाले भन्नुभयो–खुर्कोट मन्थली चरिकोट हुँदै काठमाडौं जाने सडक राम्रो छ, केही ठाउँमा रहेको अवरोध आज बिहानै हटेको छ, पूर्वी पहाड र मधेस प्रदेशबाट आउने सवारी साधनले ढुक्क भएर यस मार्गको प्रयोग गर्न सक्नुहुनेछ ।’
बर्षाको कारण अवरुद्ध बन्न पुगेको चीनसँगको तातोपानी नाका पनि केही दिनभित्र नै सञ्चालनमा ल्याउने गरि भोलिबाट काम सुरु हुने भण्डारीले जानकारी दिनुभयो । खुर्कोट मन्थली दोलखा खाँडीचोर दोलालघाट धुलिखेल हुँदै काठमाडौ आइपुग्ने दुरी केही लामो भएपनि सुरक्षित रहेको छ ।
