रामेछापबाट यी हुन एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवार



१२ असोज, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रदेश नम्बर ३ अन्तर्गत रामेछाप जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसले टिकट लिने भन्ने दौड सुरु भएको छ । जिल्लामा मुख्य राजनीति राजनीतिक दलहरुबीच टिकट लिनको लागि तिब्र प्रतिस्पर्धा देखिएको छ । चियापसलदेखि पार्टीभित्र उम्मेदवार बन्ने होडवाजी र बहस चर्किएको छ ।
रामेछापमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेबाट सम्भावित उम्मेदवारहरुको बारेमा पार्टीभित्र गृहकार्य सुरु भएको छ । प्रदेशसभाको २ वटा निर्वाचन क्षेत्र र प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न एक दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् । सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस गर्न एमाले रामेछापले आन्तरिक गृहकार्य अगाडि बढाएको छ ।

जिल्लामा संस्थापन पक्ष र माधव कुमार नेपाल पक्षको बीचमा तीब्र पतिस्पर्धा देखिएको छ । जिल्लाबाट नै उम्मेदवारहरुको सिफारिस हुने भएकाले नेताहरुबीच सिफारिसभित्र पर्नको लागि नै प्रतिस्पर्धा देखिएको छ । पार्टीभित्र युवा पुस्तालाई टिकट दिनुपर्ने भन्दै माग बलियो गरी उठेको छ । विगतको निर्वाचनमा टिकट पाइसकेका, निर्वाचनमा टिकट पाएर पनि पराजित भएकाहरुलाई भन्दा नयाँ अनुहारलाई टिकट दिनुपर्ने दबाब पार्टी नेतृत्वलाई युवाहरुले दिएका छन् ।

१ नम्बर निर्वाचन क्षेत्रमा को–को ?
प्रदेशसभा निर्वाचनको लागि एक दर्जन भन्दा बढी नेताहरु आकांक्षी देखिएका छन् । रामेछाप क्षेत्र नम्बर १ प्रदेशसभा निर्वाचन क्षेत्रबाट रामेछापका पार्टी अध्यक्ष समेत रहेका शान्ति पौडेलले नै टिकट पाउने बढी सम्भावना रहेको छ । क्षेत्र नम्बर १ बाट एमाले नेता उद्धव कडरिया, अर्जुन कार्की लगायतले आकांक्षी देखिएका छन् ।

एमालेका एक नेताले रामेछाप न्युजसँग भने,‘क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष शान्ति पौडेलले नै टिकट पाउने निश्चित भएको छ, पौडेलको बारेमा कुनै विवाद छैन, निर्वाचनमा पौडेलले नै टिकट पाउछन ।’ पौडेलले पहिलो पटक टिकट पाउन लागेको ती नेताले बताए ।

२ नम्बर निर्वाचन क्षेत्रमा को–को ?
निर्वाचनको मिति नजिकदै जादा सम्भावित उम्मेदवारहरुले आफूले टिकट पाउने दावी गर्न थालेका छन् । रामेछाप निर्वाचन क्षेत्र नम्बर २ बाट पाँच जना टिकटको दौडमा रहेका छन् । पार्टी सचिव आन्नद श्रेष्ठ, नेताहरु रत्न गौतम,रामकृष्ण लामा, ज्ञानकुमार श्रेष्ठ र होम बुढाथोकी आकांक्षी देखिएका छन् । पार्टी सचिवले स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिकाको मेयरको टिकट पाउने निश्चित भए पनि अन्तिम अवस्थामा आएर नेता रमेश बस्नेतलाई दिने पार्टी नेतृत्वले निर्णय गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा चार जनाको दौड
विगतमा दुई वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा परिवर्तित व्यवस्था अनुसार एउटा मात्र प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र भएको छ । प्रतिनिधिसभा निर्वाचनमा टिकट लिनको लागि एमाले रामेछापका इन्चार्ज समेत रहेका पार्टीका वैकल्पिक केन्द्रीय सदस्य देवशकंर पौडेल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष समेत रहेका नेता माधव ढुङगेल, नेता कैलाश ढुङगेल र सांसद कमला सुवेदी मैदानमा उत्रिएका छन् ।

पौडेल यस अघि रामेछाप क्षेत्र नम्बर १ बाट २०५१ सालमा निर्वाचित सांसद हुनुको साथै २०६४ सालको संविधानसभा निर्वाचनमा टिकट पाएपनि पराजित भएका थिए । माधव ढुङगेल पार्टीको केन्द्रीय सदस्यको साथै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष छन् । कैलाश ढुङगेल २०६४ र ०७० सालको दुई वटा संविधानसभा निर्वाचनमा टिकट पाएपनि पराजित भएका थिए । कमला सुवेदी रामेछापबाट समानुपातिक सांसद रहेकी छिन् ।

प्रतिनिधिसभा निर्वाचनको टिकट देवशकंर पौडेल र माधव ढुङगेले मध्ये एक जनाले लिने निश्चित रहेको एक नेताले रामेछाप न्युजलाई बताए । देवशकंर पौडेल र कमला सुवेदी माधव नेपाल पक्षका हुन् भने कैलाश ढुङगेल र माधव ढुङगेल पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । टिकट पाउनको लागि दुवै पक्षले पार्टीका शीर्ष नेतृत्वसँग लविङ सुरु गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्