सूर्यविनायक–धुलिखेल सडक आठ लेनको बन्ने, रामेछापलाई फाइदा



१० फागुन, भक्तपुर ।
अरनिको राजमार्ग अन्तर्गत १५ किलोमिटर लामो सूर्यवनायक–धुलिखेल सडकखण्ड अब आठ लेनको बन्ने भएको छ । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेपछि जगातीदेखि धुलिखेलसम्म आठ लेनको बनाउन लागिएको हो ।


सडक आठ लेनको बन्ने भएपछि सडक विभागले सुझाव संकलन गर्न आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक–धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएकाले यसको विस्तार तीव्र गतिमा गर्नुपर्ने बताए ।

उनले यस नाकामा सडक साँघुरो भएकाले पलाँसे–साँगा भञ्ज्याङ खण्ड र कोटेश्वरमा सुरुङ निर्माण गर्ने योजनासमेत अगाडि बढेको बताए । हाल सञ्चालनमा रहेको कोटेश्वर–सूर्यविनायक छ लेन सडकमा दुर्घटना बढेको प्रति सचेत हुँदै सडक विस्तार गर्दा ट्राफिक लाइट, सिसिटिभी, सडक बत्ती, आकाशे पुल र फुटपाथको यथोचित व्यवस्था गरी दुर्घटना न्यूनीकरणमा सचेतता अपनाएर सडक विस्तार गर्नुपर्नेमा बस्नेतले जोड दिए ।

सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सूर्यविनायक–धुलिखेल आठ लेन सडक विस्तारमा जापान सरकारले सहयोग गर्ने बताए । सडकखण्ड विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ, सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जापानले गरेको उनले जानकारी दिए ।

यो सडकबाट चीनसँगको तातोपानी नाका जाने साथै अरनिको र बिपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुली, बर्दिबासलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ । सूर्यविनाय–धुलेखेल सडक आठ लेनको बने रामेछापवासीलाई पनि फाइदा हुने भएको छ । रामेछापबाट राजधानी काठमाडौं आवतजावत गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्