देशभर मदिरा नियन्त्रण अभियान चलाउछौः गृहमन्त्री वादल



२३ वैशाख, काठमाडौं ।
गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्रि वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो ।
सोही क्रममा आइतवार गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न राजनीतिक पार्टी आवद्ध महिला नेतृ र महिला सांसदहरुसँग गृहमन्त्रालयमा सो विषयमा छलफल गर्नुभएको छ ।
छलफलमा गृहमन्त्री बादलले समाज , परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरुसँग आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय बढीरहेको महिला हिंसाको कारण समेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गर्नुभयो ।
देशभर रहेको करिब छ हजार ५०० स्थानिय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समुह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

यसको लागि मन्त्रालयले विस्तृत खाका बनाईरहेको भन्दै अभियान केन्द्रको प्रयासले मात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सञ्चालन गरीने गृहमन्त्री बादलको भनाई छ । यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरीरहेको गृहमन्त्रीले जानकारी दिनुभयो । उहाँले अभियानसँगै मदिरा नियन्त्रणको जागरण अभियान र भण्डाफोर कार्यक्रम आयोजना गरीने बताउनुभयो । उहाँले अनुमति नलिई र मापदण्ड नपुगी सञ्चालनमा ल्याईएको मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरीने बैठकमा जानकारी दिनुभयो ।

विकास र समृद्धिको बाधक तथा भ्रष्टचारको कारक समेत मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिवद्धता बैठकमा गृहमन्त्रीले व्यक्त गर्नुभयो ।
मदिरा नियन्त्रण सँगै लागुऔषध नियन्त्रणलाई पनि साथसाथै अभियानको रुपमा लैजाने तयारी मन्त्रालयले गरीरहेको उहाँको भनाई छ ।
कार्यक्रममा पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरी बास्कोटाले मदिरा नियन्त्रणका उपायहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा महिला नेतृहरु मदिराबाट सबैभन्दा बी पिडित महिला रहेको भन्दै आफुहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताउए । उनिहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेधनै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए ।
उनिहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रको समेत तत्काल विकास गर्नुपर्ने बताए ।बिगतमा टोल, गाउँ र जिल्लागत रुपमा यस्तो अभियान सञ्चालन गरीएपनि यसपटक केन्द्रस्तरबाटै अभियान सुरु गर्न लागिएकोले अभियान सफल हुनेमा छलफलमा सहभागी सबैको एकमत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्