यसै बर्ष बन्ने भो सुनकोसीको खैरेनीघाट पुल



२० मंसिर, रामेछाप ।
आठ वर्ष अघि निर्माण कार्य सुरु भएको सिन्धुली–रामेछाप जोडने सुनकोसीस्थिति खैरनीघाटको पुल यसै बर्ष निर्माण सम्पन्न हुने भएको छ । पुल निर्माण गर्न सरकारले देखाएको चासो र पुलको नयाँ डिजाइन बनेपछि यसै बर्ष पुल निर्माण कार्य सम्पन्न हुने भएको हो । पुल निर्माणको क्रममा बीचको पिल्लर निर्माणको क्रममा ठूलठुलो ढुङगा आएपछि पुलको पुनः डिजाइन नै परिवर्तन भएको थियो ।sunkoshi-pull-1

नयाँ डिजाइन मार्फत पुल निर्माण गर्न लामो समय लागेको पुल निर्माण महाशाखाले बताएको छ । पुल निर्माणमा डिजाइन परिवर्तन भएको कारण समयमा नै पुल निर्माण कार्य सम्पन्न गर्न नसकेको पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले बताएको छ । पुल निर्माणको ठेक्का पाएको खाम्पाचे जेभीको सञ्चालक आङदावा शेर्पाले बीचको पिल्लर निर्माण सम्पन्न हुने लाग्दा पुनः डिजाइन परिर्वत, भुकम्प, नाकाबन्दीको लगायतको कारणले समयमा नै पुल निर्माण गर्न नसकिएको बताए । शेर्पाले रामेछाप न्युजसँग भने,‘यस बर्ष तीन वटै पिल्लर निर्माण कार्य सम्पन्न हुन्छ ।’
७ करोड ७५ लाख रुपैयाँमा निर्माण हुन लागेको खैरेनीघाट पुलको लम्बाई ८३ मिटर रहेको छ । सुनकोसी नदीमै छोटो पुलको रुपमा रहेको पुल निर्माण भएपछि रामेछापवासीका लागि ठूलो टेवा पुग्ने  आशा गरेका छन् । पुल निर्माणको लागि सरकारकोे अहिलेसम्म झण्डै  तीन करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । शेर्पाले भने,‘हामी जति सक्दो छिट्टो काम सिध्याउन सोचमा छौ, कहिले डिजाइन परिर्वतन गर्दा ढिला भयो यस बर्ष पिल्लर निर्माण गरेर अर्को बर्ष ट्रस हाल्न योजना बनाएका छौ ।’ हिऊदको ६ महिना मात्र सहज ढंगले काम गर्न सकिने भएको कारण पनि पुल निर्माणमा ढिला हुँदै आएको छ ।

sunakoshiiiii-pulllराजधानी काठमाडौंबाट करिब ९० किलो मिटर दुरीमा रहेको सिन्धुली, काभ्रे र रामेछापको संगमस्थल कुशेश्वर दुम्जास्थित खैरनीघाटमा निर्माणाधिन पुन समयमा निर्माण नहुँदा रामेछाप दुई नम्बर क्षेत्रका बासीन्दाले ठूलो सास्ती खेप्दै आएका छन् । हिउदामा रोशीखाला तर्न सहज हुने भएपनि बर्षाको समयमा बढी सास्ती खेप्दै आएका छन् । सुनकोसी नदीमा पुल निर्माण गरिएपछि रामेछापको पश्चिमी क्षेत्रमा रहेका करिब १६ गाविसको बासिन्दालाई प्रत्येक्ष फाइदा पुग्नेछ । पुल निर्माणपछि रामेछापवासीले ठूलै राहत पाउने छन् ।

पुल निर्माणसँगै विपी राजमार्गसँगवै जोडिएपछि रामेछापका वासिन्दाले तराई र राजधानी  काठमाडौं आवतजावत गर्न सजिलो हुनेछ । पुल निर्माण भएपछि रामेछापका स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य उत्पादन विक्रिवितरण गर्न हुनुका साथै पर्यटकीय सम्भावना बोकेर बसेका सुनापती गाल्वा र दोरम्बा लगायतका स्थानको विकासमा टेवा पुग्ने छ । बर्षाको कारण काम रोकिएको पुलको निर्माणको काम सुरु भएको छ । हाल बीचको पिल्लर निर्माण काम भइरहेको छ । पारी पट्टीको पिल्लर निर्माण कार्य सम्पन्न भइसकेको छ भने बीचको पिल्लर निर्माण कार्य आधा सकिएको छ । अब रामेछापपट्टीको पिल्लर निर्माण गर्न मात्र बाँकी छ । पहरोमै पिल्लर राखिने भएकाले यसै बर्ष निर्माण गर्न सम्पन्न गरी काम अगाडि बढाइएको शेर्पा बताए ।
उनले भने,‘कुनै पनि हालतमा यस बर्ष पिल्लर निर्माणको काम सम्पन्न हुन्छ, सुनकोसी नदी ठूलो भएको कारण रामेछापपट्टीको पिल्लर निर्माणको काम अगाडि बढाउन सकिएको छ, पानीको सतह घटने वित्तिकै काम सुरु हुन्छ ।’ पुल निर्माण कार्य सुरु भएको दस बर्षमा अर्को बर्ष खैरेनीघाटमा पुल निर्माण सम्पन्न भएपछि रामेछापवासीले सहज रुपमा राजधानी आवतजावत गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्