रामेछापकाे मन्थली नगरपालिकामा अझै गाविसकै झझल्को



२६ कार्तिक, रामेछाप ।
स्थानीय तहको सरकार सञ्चालन भएको झण्डै दुई बर्ष पुग्न लाग्दा समेत रामेछापको मन्थली नगरपालिकामा भने विगतको गाविसझै वडा कार्यालयहरु झोलाबाटै सञ्चालन हुँदै आएको छ । स्थानीय सरकार सञ्चालनमा आएपछि घरदैलोबाट सेवा प्राप्त गर्न मन्थली नगरपालिकाका अधिकाश वडावासीहरु बञ्चित हुँदै आएका छन् ।

विगतमा सदरमुकाममा झोलाबाटै गाविस सञ्चालन भएझै अहिले पनि वडा कार्यालयहरु त्यसरी नै सञ्चालन हुँदै आएको गुनासो बढदै गएपछि मन्थली नगरपालिकाले सबै वडा कार्यालयले आ–आफ्नो वडाबाट वडा कार्यालयबाट सेवा प्रदान गर्न कडा निर्देशन दिएको छ ।
मन्थली नगरपालिकाले आगमी मंसिर १५ गते भित्र अनिबार्य रुपमा आफ्नै वडाबाट सेवाग्रहीका काम गर्न वडाका जनप्रतिनिधि र कर्मचारी कर्मचारीहरुलाई लिखित रुपमा पत्रचार गरेर नै निर्देशन दिएको छ । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले लिखित पत्राचार गरेर नै नगरपालिकामा रहेका १४ वटै वडा कार्यालय मार्फत सेवा प्रवाह गर्न निर्देशन दिएको बताउनुभयो ।
लोकतान्त्रिक ब्यवस्थाको भावना र मर्म अनुरुप हुने गरी स्थानीय तह निर्बाचन र जनप्रतिनिधिहरुको बहाली पश्चात वडास्तरसम्म करिब दुइतिहाई जनताको सहज पहुँच हुने स्थल छनौट गरी वडा कार्यलयहरु स्थापना गर्न नगरपालिकाले निर्देशन दिएको छ । साबिक जिल्ला सदरमुकाममै घर भाडामा लिइ वडा सम्पर्क कार्यलय संञ्चालन गरेको जनगुनासो प्राप्तभएको र अनुगमनको क्रममा पनि सोही तथ्य फेला परेकाले तत्काल वडा कार्यालय सञ्चालनमा ल्याउन निदैृशन दिएको खडकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्