राष्ट्रपति अाेबामा इस्लामिक स्टेट समूहको संस्थापक र हिलारी सहसंस्थापक रहेकाे ट्रम्पकाे अाराेप



एजेन्सी, काठमाडौं ।

राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले मध्यपूर्वदेखि यूरोपसम्म आतंक मच्चाइरहेको इस्लामिक स्टेट समूहको गठन अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको आरोप लगाएका छन् । फ्लोरिडा राज्यको फोर्ट लाउडरडेलमा भएको एक र्‍यालीलाई सम्बोधन गर्दै गर्दा उनले राष्ट्रपतिको पुरा नाम लिएका थिए– बाराक हुसैन ओबामा ।

‘धेरैले राष्ट्रपति ओबामाको सम्मान गर्छन्,’ उनले भने, ‘उनी आइएसआइएसका संस्थापक हुन् ।’ उनले आफूले लगाएको आरोपलाई महत्वपूर्ण भएको देखाउन तीनपटक दोहोर्‍याएका थिए ।रिपब्लिकनका तर्फबाट राष्ट्रपति उम्मेदवार चयन भएका उनले आफ्नो प्रत्यासी हिलारी क्लिन्टनको पनि उक्त आतंकवादी समूह गठन गर्न योगदान गरेको आरोप लगाए । उनले भने, ‘त्यो जाली क्लिन्टन, आइएसको सहसंस्थापक हो ।’

ट्रम्पले लगाएका आरोप बारे भने ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्पले केही समय अगाडि ओबामा मुस्लिम भएको र केन्यामा जन्मिएको आरोप समेत लागएका थिए । जबकी ओबामाका बाबु केन्याली भएपनि उनी हवाईमा जन्मिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्