सवारी साधनको रुटपरमिट रोक्दा रामेछापमा खाद्यन्न अभाव



१५ भदौ, रामेछाप ।
दिनप्रतिदिन दुर्घटना हुने क्रम बढ्न थालेपछि सरकारले सवारी साधनको रुटपरमिटमा कडा पारेको छ । गत एक महिनादेखि रामेछाप प्रवेश गर्ने मुख्य नाका सिन्धुलीको खुर्केट र खुर्कोट हुँदै तराई आवतजावत गर्ने यातायात तथा ढुवानी साधनलाई रुटपरमिटको नाममा रोक लगाएपछि रामेछापका बासिन्दा मारमा परेका छन् ।

लामो समय वितिसक्दा समेत सरकारले रुटपरमिटको अन्यौलताको बारेमा निर्णय गर्न नसक्दा रामेछाप जिल्लामा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । नागरिकको दैनिक उपभोग्य वस्तु आयात गर्ने सवारी साधान सहज रुपमा सञ्चालन नभएकोप्रति रामेछाप उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ । रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले यातायात र रुटपरमिटका नाममा रोक लगाउने कार्यले रामेछाप जिल्लाका व्यवसायी, सर्वसाधारण मारमा परेको बताए ।

संघले सरकारले जिल्लाका पक्की र कच्ची सडकहरुमा समेत सवारी साधान गुडन नदिएको भन्दै कडा कदम चाल्ने चेतावनी दिएको छ । रामेछाप जिल्लामा काठमाडौ, दोलखा मन्थली र काठमाडौ नेपालथोक खुर्कोट हुँदै मन्थली जोडन मुख्य राजमार्ग बाहेक जिल्लाका अधिकांश सडक कच्ची रहेको छ ।

कच्ची सडकमा ठूला सवारी साधान सञ्चालन गर्न कठिन भएपछि हाल जिल्लाका अधिकांश गाविसमा राजधानी काठमाडौबाट टाटासुमो चल्ने गरेका छन् । सुविधा दिने नामका टाटासुमोले मनलाग्दी भाडा लिदा समेत स्थानीय प्रशासनले चासो नदेखाएको गुनासो यात्रुहरुले गरेका छन् । रामेछापको अधिकांश क्षेत्रमा अरनिको सेवा समितिले वस सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्