बढी भाडा लिए ठाउँको ठाउँ कारवाही हुन्छःप्रजिअ अधिकारी



२२ भदौ, काठमाडौं ।
यातायात व्यवसायीहरुले मनलाग्दी रुपमा यात्रुहरु भाडा लिन व्यापक जनगुनासो बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीले बढी भाडा लिनेलाई ठाउँको ठाउँ कारवाही हुने चेतावनी दिएका छन् । राजधानी काठमाडौबाट रामेछापका विभिन्न गाविसमा सञ्चालन हुने यातायातमा व्यवसायीहरुले तोकिए भन्दा बढी भाडा लिन थालेपछि प्रजिअ अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।

cdo adhikari

‘तोकिए भन्दा बढी भाडा लिने यातायात व्यवसायीलाई कारवाही हुन्छ’,उनले भने,‘कानुन विपरीत काम गर्ने छुट कसैलाई पनि छैन, कानुन विपरीत चल्न खोजे कानुन अनुसार नै कारवाही हुन्छ ।’ यात्रुहरुको गनगुनासो बढेपछि प्रजिअ अधिकारीले सर्वदलिय छलफलमा यातायात व्यवसायीलाई कडा चेतावनी दिएका हुन् ।

यसअघि सरकारले तोकेको नयाँ भाडादर अनुसार काठमाडौबाट मन्थलीको १० सिटे गाडिको भाडा ३ सय ८१ रुपैयाँ तोकेको थियो । त्यसैगरी चरिकोटसम्मको ५ सय ७३, जिरीको ६ सय ६५ रुपैयाँ र वर्दिबासबाट चरिकोटसम्मको ४ सय ६८ रुपैयाँ भाडा तोकिएको थियो ।
रामेछाप जिल्लाका अधिकाशं गाविसमा सडकको सुविधा पुगेको छ । प्रजिअ अधिकारीले ३५ वटा सडकहरुको अस्थाई रुटपरमिट आईसकेको बताए । सर्वदलिय छलफलमा कच्ची सडकका बारेमा सडकको स्तरउन्नती हेरेर भाडादर लागु गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । जिल्लाभर कच्ची सडकहरुमा भाडादर कायम गर्नु भन्दा पहिला प्राविधिक टोलीले अनुगमन गर्न प्रशासन, जिल्लास्थित राजनीतिक दल र यातायात व्यवासायी सहमत भएका छन् ।

रामेछापका अधिकाश क्षेत्रमा अरनिको यातायात र हाल खुर्कोटको पुल सञ्चालनमा आएपछि राजधानी काठमाडौबाट टाटासुमो सञ्चालन हुदै आएका छन् । काठमाडौंबाट रामेछापका विभिन्न क्षेत्रमा सञ्चालन हुने टाटासुमोले तोकिए भन्दा बढी लिने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्