रामेछाप साक्षर जिल्ला घोषणा



५ असोज, रामेछाप ।
रामेछाप जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । बुधवारा रामेछापको सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर जिल्ला घोषणा गरिएपनि जिल्लामा अझै ३ दशमलव ६० प्रतिशत नागरिकहरु साक्षर हुन बाँकी रहेका छन् ।

ramechhpa
कार्यक्रममा रामेछापका जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहभित्र कुल १ लाख ११ हजार १ सय ८८ जनसंख्या रहेकोमा औपचारिक र अनौपचारिक शिक्षा कार्यक्रममार्फत् १ लाख ७ हजार १ सय ८५ जना अर्थात् ९६ दशमलव ४० प्रतिशत साक्षर भएको तथ्यांकका आधारमा रामेछापलाई साक्षर जिल्ला घोषणा गरिएको बताए ।

कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीका निर्देशक दिवाकर ढुंगेलले साक्षर रामेछाप बनाउन जिल्ला शिक्षा कार्यालयले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंशा गरे । आगामी दिनमा पनि प्रभावकारी रुपमा काम गर्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा अधिकांश वक्ताले जिल्लाको शैक्षिक स्तर उकास्नका लागि अझ धेरै काम गर्नुपर्ने भन्दै साक्षर हुन बाँकी नागरिकलाई अक्षर चिनाउन प्रयत्न गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा सांसदहरु श्यामकुमार श्रेष्ठ, शिवबहादुर खड्का, कमला सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, राजनीतिक दलका नेताहरुले जिल्लालाई साक्षर घोषणा गर्न सफल हुनु सकारात्मक पक्ष भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्