होहल्ला गर्नेलाई ठाउँको ठाउँ कारवाही हुन्छः डिएसपी ढुंगेल



१७ असोज, रामेछाप ।
जिल्ला प्रहरी कार्यालयले रामेछापले दशै तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै सुरक्षा रणनीति सार्वजनिक गरेको छ । रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्ष कुमोद ढुुंगेलले जाड रक्सी खाएर होहल्ला र झगडा गर्नेलाई तत्काल कार्वाही गर्ने बताए । उनले भने,‘जाडरक्सी खाने र होहल्ला गर्ने कुनैपनि धर्म सस्कृतिमा उल्लेख छैन, त्यसैले समाजमा विकृति भित्र्याउन खोज्नेलाई प्रहरीले कानुन अनुसार कारवाही गर्छ ।’dsp kumoda
डिएसपी ढुंगेलले चाडबाडका बेलामा यातायातका साधनहरुमा पनि प्रहरीले निग्रानी बढाउने योजना बनाएको बताए । बिगतका समयमा यातायातका साधन चलाउनेहरुले पनि मादक पदार्थ सेवन गर्ने गरेकाले रामेछापका विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायातको साधनमाथि चेकजाँच र निगरानी बढाउने बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापले दशै , तिहार तथा छट पर्वमा जिल्लामा गरिने सुरक्षा व्यवस्था आइतबार सार्वजनिक गर्न राजनीतिक दल नागरिक समाज लगायतका सरोकारवाला पक्षहरुसँग छलफल गर्दा जिल्लाको सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।
प्रहरीले चाडबाडका बेलामा हुन सक्ने जुवा ,तास ,मादक पदार्थ सेवन पछि हुने झैझगडा लगाएतका गतिबिधिहरुलाई नियन्त्रण गर्न सबै क्षेत्रबाट प्रहरीले आफ्नो सक्रियता बढाउने बताएको छ । प्रहरीले समाजमा हुने विकृत र विसंगती रोक्नको लागि नागरिक समाज राजनीतिक दल लगायत सबै पक्षकाले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

प्रहरीले चाडबाडका बेलामा ग्रामिण भेगमा हुन सक्ने घटनाहरुप्रति सचेत रहेको बताउदै जिल्लाभरका ईलाका प्रहरी चौकीहरुको पनि सक्रियता बढाउन निर्देशन दिएको डिएसपी ढुंगेलले बताए । प्रहरीले कारागार, बैँक, बजार क्षेत्रका चोकहरुमा केन्द्रीत गरी सुरक्षा सतर्कता बढाउने बताएको छ । रामेछाप जिल्लाका प्रहरी प्रमुख भएर आए लगत्तै डिएसपी ढुंगेलले तीन महिनाभित्र जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने प्रतिबद्धता जारी गरेका थिए ।

प्रहरीलाई सहयोग गर्न तयार छौः राजनीतिक दल
रामेछाप जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले अगाडि सारेको योजनामा साथ दिन तयार रहेको राजनीतिक दलहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लास्थित राजनीतिक दलहरुले प्रहरीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमति रामेछापका सचिव लेकबहादुर कार्कीले प्रहरीले सबैको सहयोग लिने र दिने ढंङगले काम गर्नुपर्नेमा जोड दिए । नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले शान्ति सुब्यवस्थामा प्रहरीको भूमिका महत्वपुर्ण भूमिका हुने हुनाले सबैले सहयोग गर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठले प्रहरीले प्रहरीले गर्ने हरेक सकारात्मक काममा साथ दिने बताए ।

प्रतिक्रिया दिनुहोस्