रामेछापको लुभुसम्म बस लैजान व्यावसायी तयार
१७ असोज, काठमाडौं ।
काभ्रे मेच्छेस्थिति तित्रीटारका केही युवाहरुले धम्की दिदै बस चलाउन रोक लगाएपछि रामेछापका १५ गाविसका बासिन्दाहरुले सास्ती पाएका छन् । प्रत्येक गाडीबाट ती युवाहरुले ७० देखि एक लाख रुपैयाँसम्म मोटो रकम मागेपछि बस सञ्चालन गर्दै आएको हिमाल पहाड यातायातले बस सेवा बन्द गरेको थियो ।

युवाहरुको धम्कीको कारण दुई सातादेखि चल्न नसकेको बस पुनः लुभुघाटसम्म लैजान व्यवसायी तयार भएका छन् । रामेछापका बासिन्दाले सहज रुपमा बसलाई रोशी खोला तर्ने वातावरण बनाउदिन सिन्धुली, काभ्रे र रामेछापका प्रहरी प्रमुखसँग आग्रह गरे अनुसार प्रहरीले अवरोध हटाउने भएको छ । अहिले नेपालथोकको रोशीखोला किनारसम्म जाने भएपछि खोला तर्नको लागि युवाहरुले अवरोध गर्दै आएका छन् ।
दशैको बेला धेरै कमाउने उदेश्यको साथ युवाहरुले राफ्टिङ राखेर कमाउ धन्दा चलाउदै आएका छन् । नेपालथोक प्रहरी चौकी भने केही युवाहरुले देखाएको दादागिरीकोसामु निरीह बन्दै आएका छ । हिमाल तराई यातायात वस व्यवसायी समितिका अध्यक्ष आत्मराम थापाले प्रहरी प्रशासनमा पैसा मागेको बारेमा जानकारी गराएको बताए ।
उनले रामेछाप न्युजसँग भने,‘यात्रुलाई सुविधा दिनु हाम्रो काम हो, मोटो रकम मागेपछि दिन नसकेको हो, प्रहरीले सुरक्षा दिने बचन दिएकाले अब हामी बस चलाउछौ ।’ ईलाका प्रहरी चौकी मंगलटारले भने बस व्यवासयीले बस लैजान तयार भए प्रहरीले हाल रोशीमा सञ्चालन गरेको र्याफ्टिङ हटाउने बताएको छ । प्रहरीले बस सञ्चालनमा पूर्ण रुपमा सुरक्षा दिन तयार रहेको पनि व्यवसायीलाई विश्वास दिलाएको छ । लुभसम्म बस सञ्चालन गर्नको लागि रामेछापको राजनीतिक दलहरुले पनि सक्रियता देखाएका छन् ।