तीन करोड २९ लाखमा बन्ने भो नापी कार्यालय
२४ कातिक, रामेछाप ।
रामेछापको मन्थलीमा सुविधा सम्पन्न साढे तीन तलाको सुविधा सम्पन्न भवन बन्ने भएको छ । ३ करोड २९ लाख रुपैयाँमा भवन निर्माण हुन लागेको भवनको भूमिसुधार मन्त्री विक्रम पाण्डेले उदघाटन गरेका हुन् ।
२०३३ सालमा रामेछापमा नापी कार्यालय स्थापना भएपनि कार्यालय भाडामा लिएर सञ्चालन गर्दै आएको थियो । निर्माण गर्न लागिएको भवन अपाङमैत्री रहेको बताए । आफ्नै भवन नहुँदा नापी कार्यालय मासिक २० हजार रुपैयाँ भाडा तिर्नको लागि खर्च गर्दै आएको थियो । । नापी कार्यालय र कन्काइ,थापा जेभीसँगबीच १८ महिनाभित्र भवन निर्माण गरिसक्नु पर्ने सम्झौता भएको नापी कार्यालय रामेछापका नापी अधिकृत सजिवकुमार राउतले बताए ।
नापी कार्यालयमा कर्मचारीको अभाव
भुकम्पबाट प्रभावित जिल्ला रामेछापमा नापी कार्यालयमा कर्मचारीको अभाव हुँदा दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा पर्ने गरेका छन् । ३ जना सर्भेक्षक र १० जना अमिन हुनुपर्नेमा हाल १ जना मात्र सर्भेक्षक र ५ जना मात्र अमिन रहेका छन । भुकम्पपछि नापी कार्यालयमा बढ्को चाप धान्नको लागि गाह्रो परेको नापी अधिकृत राउतले बताए ।
उनले भने,‘कामको चाप छ तर जनशक्ति छैन ।’ तीन जना सर्भेक्षक मध्ये एक जना मात्र कार्यारत छन, रामवीर यादव काजमा छन भने एक जनाको दरवन्दी खाली छ । त्यसैगरी पाँच जना मात्र अमिनी हुँदा पनि काम गर्न गाह्रो परेको उनले बताए । अंशबण्डा र कित्ताकाट गर्न आउनेहरुको संख्या बढी रहेको बताउदै राउतले भने,‘कर्मचारीको अभाव र पुरानो नक्सा हुँदा काम गर्न कठिनाई भएको छ ।’