अब हिउदमा पनि लोडसेडिङ नहुने



५ मंसिर, काठमाडौं ।

अबको तीन सातदेखि सुरू हुने नेपालको सुख्खायामको माग सम्बोधन हुने गरी भारत थप २५० मेगावाट बिजुले दिन तयार भएको छ।आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने प्राधिकरणको योजना छ।

नेपाल र भारतका ऊर्जा अधिकारीहरूबीच शनिबार भारतमा सम्पन्न सहमति अनुसार  भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाट अर्को चालिस, ढल्केबरबाट थप असी, रक्सौल-परवानीपुर र कटैयाँ कुसाहाबाट ५०-५० गरी थप दुई सय ५० मेगावाट बिजुली  दिन भारत तयार भएको हो। सम्झौतामा प्राधिकरणको योजना अनुगमनका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र पावर ट्रेडिङ इन्डियाका श्रीहरि शरणले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टनकपुरको बिजुली प्रतियुनिट तीन रुपैयाँ ४४ पैसा भारु (पाँच रुपैयाँ पचास पैसा) मा नेपालले खरिद गर्नेछ ।

टनकपुरस्थित सबस्टेसनमा रहेको ट्रान्सफर्मरको क्षमतालाई पचास एमभीएबाट एक सय एमभीएमा वृद्धि गरी थप बिजुली ल्याउन सहमति भएको हो । यसका लागि आगामी बुधबार दुवै देशका प्राविधिक टोलीले टनकपुर सबस्टेसनको संयुक्त अवलोकन गरी आगामी डिसेम्बरको अन्तिम साता वा जनवरीको पहिलो साताभित्रै बिजुली आपूर्ति गरिने उनले बताए ।

नेपाल-भारत ऊर्जासचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) बैठकले आगामी डिसेम्बरभित्र ढल्केबरको बिजुलीलाई दुई सय बीस केभीमा चार्ज गरी थप असी मेगावाट बिजुली ल्याउने निर्णय भएको थियो । तर नेपालतर्फ चिनियाँ ठेकेदारले ढल्केबरमा निर्धारित समय (डिसेम्बर) मै सबस्टेसन निर्माण गर्न नसक्ने भएकाले तत्कालका लागि पूर्णियाबाट विस्थापन गरिएको ट्रान्सफर्मर जडान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्