रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियागिता



२५ मंसिर, काठमाडौं ।
रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता नमुनादीप कप यसै साताबाट सुरु हुने भएको छ । चारदिने प्रतियोगिताका सम्पूर्ण खेल रामेछाप सैपु–४ स्थित अरुणोदय माविको प्रांगणमा हुने भएको हो । आयोजक नमुनादीप युवा क्लबले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही मंगलबारबाट सुरु हुने जानकारी गराएको छ । आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

buje

‘प्रतियोगिताका लागि सहभागी टोलीको दर्ता प्रक्रिया जारी छ । तर, खेलका लागि आवश्यक मैदान र अन्य प्राविधिक तयारी लगभग सकिएको छ’, प्रतियोगिता संयोजक रजिन बस्नेतले भने । उनका अनुसार प्रतियोगितामा हालसम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुंगाका १६ टोलीले सहभागिता सुनिश्चित गरिसकेका छन् । प्रतियोगितामा काठमाडौं र अन्य जिल्लाबाट समेत टोली सहभागी हुने संयोजक बस्नेतले बताए । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित एक लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेता टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार प्राप्त गर्नेछ । स्थानीय खेलाडीको प्रोत्साहनका लागि विभागीय टोलीलाई भने सहभागी नगराइएको आयोजकले जनाएको छ ।

‘हामीले स्थानीय खेलाडीको प्रोत्साहनका लागि नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं’, क्लबका सल्लाहकारसमेत रहेका पूर्वअध्यक्ष निर्मल पौडेलले भने,‘त्यसैले विभागीय टोलीलाई सहभागी गर्ने निर्णय गरेका छौं तर विभागका खेलाडीहरूले अन्य टोलीमार्फत खेल्न सक्नेछन् ।’
प्रतियोगिताको कुल खर्च सात लाख रहेको क्लबका अध्यक्ष विष्णु पौडेलले जानकारी दिए । त्यसका लागि सफलता हाउजिङ एन्ड इन्भेस्टमेन्ट प्रालि, गंगाजल मिनरल वाटर, मञ्जु श्री टे«ड प्रालि, संरचना बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा रत्न कार्पेटलगायतले प्रायोजन गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।क्लबले २०६५ सालयता नियमित रूपमा आयोजना गर्दै आइरहेको नमुनादीप कपको यो नवौं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्