प्रधानमन्त्री प्रचण्डको सम्पत्ति तीन तोला सुन एक कठ्ठा जमिन



२९ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति सार्वजनिक भएको छ । प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको देखिएको हो । उक्त सम्पत्ति पनि स्वआर्जन नभएर पैतृक भनिएको विवरणमा उल्लेख गरिएको छ ।

prachanda-sampati

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार नै प्रधानमन्त्रीका साथै मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण पनि सार्वजनिक गरेको छ ।

कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पनि करोडौं सम्पत्ति देखाएका छन् । उनीसँग झण्डै ६ बिगाहा जग्गा रहेको छ ।

६० तोला सुन, १ सय ५० तोला चाँदी र ११ झण्डै ११ लाख नगदसहित विभिन्न बैंकमा लाखौं रकम मौज्दात रहेको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग रोल्पामा ८ रोपनी सुख्खा पाखो र बैंकमा ८० हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् । यस्तै अमेरिकामा समेत घरजग्गा जोडेका भूमिसुधार मन्त्री विक्रम पाण्डे करोडौंका मालिक देखिएका छन् । उनीसँग शेयरको चाङ नै देखिएको छ ।
उनको प्राइम, ग्लोबल, एभरेष्ट लगायतका विभिन्न बैंकमा गरी मन्त्री पाण्डेको करीव ७ करोडको शेयर लगानी रहेको विवरणमा देखिन्छ । त्यसैगरी कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीका मालिक पाण्डेको त्यहाँको लगानी सबै गरेर २७ करोड रुपैयाँको शेयर देखाइएको छ ।शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफूसँग ५० तोला सुन, ५ सय २५ तोला चाँदी, काठमाडौं र नुवाकोटमा गरी चारवटा घर र विभिन्न बैंकमा गरी डेढ करोड रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् ।
परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतको नुवाकोटामा ५० रोपनी, झापामा ५ विघा ४ कठ्ठा, इलाममा १० रोपनी ,काठमाडौंमा २० आना जग्गा रहेको छ । उनीसँग ३० तोला सुन, १२ सय तोला चाँदी, ५२ लाख भन्दा बढी नगद बैंकमा रहेको विवरणमा उल्लेख छ । रक्षा मन्त्री बालकृष्ण खाँडको पनि विभिन्न २१ ठाउँमा जग्गा रहेको छ । लाखौं रकम बैंकमा मौज्दात हुनुका साथै ४० तोला सुन र ६० तोला चाँदी उल्लेख गरिएको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीसँग सुन मात्रै एक सय तोला, हिरा, मणि माणिक तथा मोती र मुगाका गरगहना रहेको उल्लेख गरेका छन् ।

वर्तमान सरकारका यूवा तथा खेलकुद मन्त्री दलजित बिके श्रीपाली ऋणमा डुबेको देखिएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार उनले आफ्नी श्रीमती सुनकुमारीको किड्नी फेल भइ उपचारमा लिएको ऋण तिर्न बाँकी रहेको देखाएका छन् । विभिन्न व्यक्तिसँग लिएको ७ लाख ऋण तिर्न बाँकी रहेको उनले देखाएका छन् । चार लाख रुपैयाँ ऋण भने उनले तिरसकेको देखाएका छन् । उनको तीनवटा बैंकमा गरी ३ हजार ३ सय १४ रुपैयाँ मात्रै बैंक मौज्दात देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्