कुलमान घिसिङको समर्थनमा राजधानीमा खुसीयाली जुलस



२ पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा भव्य खुसीयाली जुलुस निकालिएको छ । प्राधिकरणको प्रमुखमा घिसिङ आएपछि उपत्यकामा लोडसेडिङ हटाएको भन्दै सर्वसाधारणहरुले राजधानीमा खुसीयाली जुलुस निकालेका हुन् । घिसिङका समर्थक र सर्वसाधारणहरुले राजधानीका भृकुटीमण्डदेखि खुल्ला मञ्चसम्म र्याली निकालेका छन् ।

kulmanko-smarthan-22-jpg-2‘समृद्ध नेपालका निम्ति सक्षम नेतृत्वलाई समर्थन गरौँ’, ‘कुशल ब्यक्तिलाई सबै मिली प्रोत्साहन गरौं’भन्ने लगायतका नारा लेखिएको घिसिङको तस्विर सहितको ब्यानर राखेर सर्वसाधारणले खुसीयाली मनाएका छन् । तर उक्त कार्यक्रममा घिसिङ भने थिएनन । बर्षौदेखि लोडसेडिङको चर्को मार खेप्दै आएका जनता स्वतस्फूर्त रुपमा खुल्लामञ्चमा आएर घिसिङलाई विद्युत प्राधिकरणको नेतृत्वबाट हटाउन खोज्ने बिरुद्ध खबरदारी गरेका छन् । ‘जुनसकै सरकार आउ, कुलमानलाई नहटाउ’ भन्ने नारा लगाउदै सर्वसाधारणले देशलाई घिसिङजस्तै व्यक्तिहरुको खाँचो रहेको बताएका छन् ।
कुलमान घिसिङको समर्थनमा भएको यो कार्यक्रमको व्यवस्थापन विवेकशील नेपाली समूहले गरेको थियो भने उज्यालो नेपाल अभियानले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरुले भष्ट्राचारी र लोडसेडिङ गर्ने विरुद्ध सघर्ष गरौँ भन्दै नारा लगाएका थिए ।
गत भदौ २९ गते मन्त्रीपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघिका प्रवन्ध निर्देशक मुकेश काफ्लेलाई राजीनामा गर्न लगाएर चिलिमे हाइड्रोपावरका प्रवन्ध निर्देशक रहेका घिसिङलाई प्राधिकरणमा ल्याइएको थियो ।
प्राधिकरणमा नेतृत्व सम्हाले लगतै घिसिङले गएको तिहारदेखि लोडसेडिङ हटाउने कार्यको प्रयास गरेका थिए । गएका बर्ष यतिबेला दैनिक औसतमा १२ घन्टासम्म लोडसेडिङ हुने गरेको थियो । तर कार्तिकदेखि उपत्यकामा लोडसेडिङ भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्