कुलमान घिसिङको विरुद्ध लाग्ने ‘भिलेन’ माथि कारवाही



४ पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकालाई लोडसेडिङमुक्त बनाउने अभियानमा अवरोध गर्ने प्राधिकरणका तीन जना सञ्चालकलाई उर्जा मन्त्रालयले बर्खास्त गरेको छ ।उर्जामन्त्री जनार्दन शर्माले आइतबार सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई पदमुक्त गरेका हुन् ।

सञ्चालकत्रयले बुझाएको प्रष्टिकरण चित्त बुझ्दो नभएपछि मन्त्री शर्माले हटाएर नयाँ सञ्चालन सदस्य नियुक्त गरेका छन् । तीन जना सञ्चालकले प्राधिकरण सुधारका लागि उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अवरोध पुर्याउँदै आएका थिए ।

नयाँ परियोजना कम्पनी मोडलमा बनाउने, बिद्युत ब्यापार कम्पनी खोल्ने जस्ता प्रस्ताव उनीहरुले पारित हुन दिएका थिएनन् । मंसिर १० गते डाकिएको प्राधिकरण बोर्ड बैठकमा प्रस्ताव पारित हुन नदिएर बाहिरिएका उनीहरु तीन जनाले हस्ताक्षर गरि बोर्डको निर्णय भन्दै प्रबन्ध निर्देशक घिसिङ बिरुद्ध प्रचार समेत गरेका थिए । त्यसपछि मन्त्रालयले प्रष्टिकरणका लागि पठाएको चिठी समेत उनीहरुले बुझ्न अस्विकार गरेका थिए । मन्त्रालयले पत्रिकामा सूचना प्रकाशित गरि सात दिनभित्र प्रष्टिकरण दिन भनेपछि उनीहरुले पत्र बुझेका थिए ।
तीन नयाँ सञ्चालक नियुक्त
लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेर सरकारले नयाँ सदस्य नियुक्त गरेको छ ।

रुकुम पूर्तिमकाँडाका भक्तबहादुर पुन, बाजुरा मार्तडीका चेतराज जोशी र सुर्खेत विरेन्द्रनगरका उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेका थिए । उनीहरुलाई ऊर्जा मन्त्रालयले स्पष्टिकरण समेत सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध र्पुयाएको भन्दै मन्त्रालयले तिनै जनालाई पदबाट बर्खास्त गरेको छ ।

कुलमानको समर्थनमा खुसीयाली जुलुस
कुलमान घिसिङ प्राधिकरणको प्रमुख भएपछि उपत्यकालाई लोडसेडिङमुक्त गरेको भन्दै राजधानीबासीले खुसीयाली जुलुस मनाएका छन् । राजधानीवासीले स्वस्फूत रुपमा घिसिङले गर्न खोजेको काममा अवरोध गर्नेका विरुद्ध नारावाजी समेत गरेका थिए । सरकारी कर्मचारीले जनताको पक्षमा गरेको कामप्रति पहिलो पटक नागरिक सडकमा आएका हुन् । प्राधिकरणका प्रमुख घिसिङले उपत्यकालाई मात्र नभई देशलाई नै लोडसेडिङमुक्त बनाएर छोडने बताएदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्