रामेछापमा ३९ हजार घर पुननिर्माण गर्न १५ जना प्राविधिक



६ पुस, रामेछाप ।
भुकम्प गएको डेढ बर्षपछि पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका रामेछापका भुकम्प पीडितहरु चिन्तित बनेका छन् । पहिले किस्ता पचास हजार रुपैयाँ लिएर घर निर्माणको तत्र्खरमा रहेका भुकम्प पीडितहरु थप अन्यौलमा परेका हुन् । बर्षौपछि पहिलो किस्ताको रकम लिएर घर निर्माणमो तयारीमा जुटेका भुकम्प पीडितहरु गाविसमा प्राविधिक नहुँदा समस्यामा परेका छन् ।

संघीय मामिला स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय कार्यान्वय इकाई मार्फत रामेछापमा खटिएका असी प्रतिशत प्राविधिकहरुले राजिनामा दिएपछि घर निर्माणको काम प्रभावित भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रामेछापका प्रमुख अमरबहादुर थापाले प्राविधिक नहुँदा घर निर्माणको काम प्रभावित भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामी जतिसक्दो छिटो घर निर्माण गर्नुपर्ने योजनामा छौ, प्राविधिकले राजिनामा दिएर बाटो लागेपछि समस्या थपिएको छ ।’ घर निर्माणको लागि केन्द्रीय कार्यान्वय इकाई मार्फत रामेछाप जिल्लामा ९२ जना प्राविधिकलाई खटाइएको थियो ।

तर ७५ जना मात्र प्राविधिक जिल्ला आएका थिए । थापाले भने,‘असी प्रतिशत प्राविधिले राजिनामा दिएका छन, ७५ जना मध्ये बाँकी १५ जना मात्र प्राविधिक बाँकी छन ।’ पहिलो किस्ताको रकम प्राप्त गरेपछि रामेछापका २ नगरपालिका सहित ४५ गाविसका भुकम्प पीडितहरु घर निर्माणको लागि निर्माण सामाग्री जुटाउन लागि परेका छन् ।
डिभिजन प्रमुख थापाका अनुसार वाम्ती भण्डारमा साठी प्रतिशत काम भएको अवस्थामा अहिले प्राविधिक नहुँदा काम रोकिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पहिलो किस्ताको रकम प्राप्त गरेपछि दोस्रो किस्ता प्राप्त गर्नको लागि भुकम्प प्रतिरोधी घर निर्माण भएको भनेर प्राविधिकले सिफारिस गर्नुपर्छ ।
प्राविधिक नै नहुँदा घर निर्माणमा हतारिएका भुकम्प पीडित निराश भएका छन् । दुई हिउद बर्षा अस्थायी टहरोमा विताएका भुकम्प पीडितले प्राविधिकहरुको कारण आगामी बर्षामा पनि टहरोमै बस्नु पर्ने अवस्था सृजना भएको छ । डेढ बर्ष अघि गएको भुकम्पको कारण रामेछाप जिल्लामा ४९ हजार ६ सय ९ घर भत्किएको थियो । जस मध्ये अहिलेसम्म २९ हजार ७ सय ५९ घर परिवारले पहिलो किस्ताको रकम प्राप्त गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ ।
प्राधिकरणले रामेछापका भुकम्प पीडितको लागि २ अर्ब ७ करोड रुपैयाँ निकासा गरेको थियो । सरकारले घर निर्माणको लागि तीन लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेपनि पहिलो किस्ता लिएर घर निर्माणमा जुटेका भुकम्प पीडितले प्राविधिको कारण सास्ती खेप्नु परेको छ । सरकार भुकम्प प्रभावित १४ जिल्लामा निर्माण हुने घरको प्राविधिक निगरानी गर्नको लागि शहरी विकास तथा भवन निर्माण विभागले २७ सय प्राविधिलाई करारमा नियुक्ति गरेको थियो । तर प्राविधिकहरुले सेवा सुविधा बढाउनु पर्ने माग राख्दै राजिनामा दिएपछि नयाँ समस्या सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्