मन्थलीको विकास गर्ने नगरपालिका र उद्योग वाणिज्य संघको नयाँ योजना



६ पुस, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा हुने विकास निर्माणको कार्यक्रममा मिलेरै अगाडि बढ्न मन्थली नगरपालिका र रामेछाप उद्योग वाणिज्य संघबीच सहमति भएको छ । छुट्टाछुट्टै कार्यक्रम गर्नुको सट्टा नगरपालिका र संघबीच मिलेरै अगाडि जाने सहमति भएको हो । सदरमुकाम मन्थलीमा बुधवार अन्र्तक्रिया कार्यक्रमको आयोजना मार्फत विकास निर्माणमा सहकार्य अगाडि बढ्न सहमति भएको छ ।

मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले नगरपालिकामा हुने विकासका कार्यक्रममा संघको पनि प्रतिनिधित्व हुनु पर्ने बताए । मन्थलीको हरियाली अभियान, वातावरण संरक्षणका कार्यक्रमहरु ,व्यवसायीको नेतृत्व विकास, सिप विकास तालिम, सभाहल निमार्ण, मेला महोत्सव गर्ने, सांस्कृतिक मेला प्रदर्शनी, पर्यटन प्रचार जस्ता कार्यक्रमहरु संचालन गर्न लागेकाले यसमा सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

अध्यक्ष थापाले कृषि बजारको व्यवस्था गरि बजारिकरण गर्ने, जिल्ला भित्र उत्पादित वस्तुहरुको बजारिकरण, कोसेली घर परिचालन, व्यवसायीहरु बीचमा कर सम्बन्धी कार्यक्रम, तालिम गोष्ठि, महिला उद्यमीहरुको सिप तथा क्षमता विकास र नेतृत्व विकास सम्बन्धी कार्यक्रम संचालन लगाएतका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताए । उनले बजारमा धुलो नियन्त्रण गर्न पानी हाल्ने व्यवस्था हुनुपर्ने, पार्किङ स्थल बनाउनुपर्ने, सडकका दायाँ बायाँ विस्तार गर्नुपर्ने छाडा चौपाय नियन्त्रण गर्नु पनि नगरपालिकाले अग्रसरता देखाउनु पर्नेमा जोड दिएका थिए ।

मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषेत्तम सापकोटाले उद्योग बाणिज्य संघले उठाएका मागहरु अहिलेको आवश्यकता भएका बताउदै नगरपालिकाले पनि विकास निर्माणको कामलाई पहिलो प्राथमितामा राखेको बताए । उनले नगर क्षेत्रको विकाससँगै स्वच्छ, शान्त हरियाली वातावरण बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्