सर्वोच्च अदालतभित्र लोकमान कार्कीलाई कालोमोसो दलियो



७ पुस, काठमाडौं ।
मंसिर ३ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको विरुद्ध सर्वोच्च अदालतभित्रै कालोमोसो दलिएको छ । बयानका लागि सर्वोच्च गएका कार्कीमाथि अदालतमित्र मुद्दामाथि सुनुवाई चलिरहेको थियो ।

तर कार्की भने मुद्दा फाँटमा तारेख बुझेर फर्कन खोज्ने क्रममा अचानक कालोमोसो दलिएको हो । सर्वोच्च अदालतमा सुरक्षार्थ खटिएका ७० जना सुरक्षाकर्मीहरुको आँखा छल्दै निकै चलाखीपूर्ण ढंगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले कार्कीलाई हातपात गर्दै कालोमोसो दलेका थिए । कालोमोसो दल्ने माओवादीका कार्यकर्तालाई तत्काल नै प्रहरीले पक्राउ गरेको थियो । कालोमोसो दल्ने दुवै जनालाई प्रहरीले आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको बताएको छ ।

पेट्रोलिय पदार्थको मुल्य बृद्धि भएको विरोधमा विप्लव नेतृत्वको माअ‍ोवादीले विहिवार उपत्यका बन्दको आयोजना गरेको थियो । नेकपा माओवादीले एक महिना अघिदेखि नै कार्कीलाई कालोमोसो दल्ने योजना बनाएको थियो । सर्वोच्च अदालत कार्की जाने दिनको प्रतिक्षामा थिए । सर्वोच्चले अदालतमा कार्कीको योग्यता सम्बन्धी परेको मुद्दामा सुनुवाईको लागि सर्वोच्च पुगेर फर्कने क्रममा माओवादीका कार्यकर्ताले नाटकीय ढंगबाट कालोमासो दलेका छन् ।

कैयन सीमाहरु भत्कन सक्छन्

सर्वोच्च अदालतभित्र नै कालोमोसो दलिएपछि कार्कीले आफू असल नियतको साथ अदालतमा जादा पनि आफूमाथि अन्याय भएको बताएका छन् । उनले कालोमोसो दलेर बाहिर लगत्तै आफ्नो फेसबुक पेजमा लेखेका छन–म यतिवेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु खोल्न चाहन्न, तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन ।
विज्ञप्तीमा भनिएको छ–‘कानून पालना गराउने दायित्व बोकेकाहरुले आफ्नो कर्तव्य निर्वाह गरे बापत दण्डित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने दायित्व बोकेका व्यक्तिले भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपर्यो भने त्यसवेला कैयन सीमाहरु भत्कन सक्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रुपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्याईन्छ भने सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचार बिरुद्धको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ । त्यसवेला कतिको शरीरमा वस्त्र बाँकी रहला समयले नै बताउने छ ।’

प्रतिक्रिया दिनुहोस्